aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
अधिक तरलता संकट

राष्ट्र बैंकले बजारबाट किन तान्दैन पैसा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
राष्ट्र बैंकले बजारबाट किन तान्दैन पैसा ?

काठमाडौं । यतिबेला बैंकिङ क्षेत्र अधिक तरलताको अवस्थाबाट गुज्रिएको छ । लगानी गर्ने ठाउँ नभएर बैंकहरु आफ्नो लगानीयोग्य पुँजीलाई निष्क्रिय रुपमा राख्नुपर्ने अवस्थामा छन् । छोटो अवधिको स्ट्यान्डर्ड ब्याजदरको रुपमा लिइने ९१ दिने ब्याजदर अहिले ०.३९ विन्दुमा ओर्लिएको छ जबकी राष्ट्र बैंकको ब्याजदर करिडोरको तल्लो सीमा नै १ प्रतिशत छ । अहिले पनि बजारमा अढाई सय अर्ब हाराहारीमा तरलता रहेको बताइन्छ ।

तर, यसरी तरलता बढ्दै जाँदा पनि राष्ट्र बैंक बजारबाट तरलता खिच्नुपथ्र्यो । तर, अहिले राष्ट्र बैंक आफैं मौन भएर बसेको छ । पहिले तरलतालाई व्यवस्थापन गर्न हप्तैपिच्छे रिपो र रिभर्स रिपो जारी गर्दै आएको राष्ट्र बैंक अधिक तरलता भएको यो समयदेखि निष्क्रिय छ । 

यसरी राष्ट्र बैंक निष्क्रिय हुनुको एउटा प्रमुख कारण हो, राष्ट्र बैंकको आम्दानी । अघिल्लो वर्ष राष्ट्र बैंकले विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वण्डमा लगानी गरेर करिब ३७ अर्ब रुपैंया आम्दानी गरेको थियो । यो वर्ष यस्तो आम्दानी ३१ अर्ब रुपैंयामा सीमित भएको छ । तर, यो अवस्था यतिमा मात्रै सीमित रहने अवस्था छैन । कोभिडको असर बढ्दै जाँदा यो आम्दानी २५ अर्बसम्ममा झर्नसक्ने राष्ट्र बैंकले अनुमान गरेको छ । यसरी आफ्नै आम्दानी घट्दै जाँदा खुला बजार हस्तक्षेप (ओपन मार्केट अपरेसन) बाट आम्दानी झनै घट्ने भएकोले राष्ट्र बैंकले यसमा सुस्तता देखाएको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी राष्ट्र बैंकको आम्दानी घटेकै कारण पर्याप्त रुपमा बजार हस्तक्षेप गर्ने अवस्था नभएको बताउँछन् । ‘राष्ट्र बैंकको आम्दानी अहिले नै घटिसकेको छ, अझै घट्न सक्छ । बजारबाट तरलता तन्दा त्यसको न्यूनतम ब्याज बैंकहरुलाई तिर्नुपर्छ, यसले आम्दानी झनै घटाउँछ,’ डेपुटी गभर्नर शिवाकोटीले भने, ‘हामीले बजार हस्तक्षेप गर्न नसक्नुको एउटा कारण यो पनि हो ।’

उनका अनुसार अवस्था सामान्य भएको भए यो समयमा बजार हस्तक्षेप गर्नैपर्ने अवस्था हुन्थ्यो । तर, कोभिड–१९ को महामारीको असामान्य कारणले यस्तो समस्या आएको र यस्तो समस्या नेपालमा मात्रै नभएर सबैतिर रहेकोले पनि बजार हस्तक्षेप नगरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस