aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कसैको घाटा फाइदाभन्दा पनि देश बनाउने कुरा होः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
कसैको घाटा फाइदाभन्दा पनि देश बनाउने कुरा होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर छुट लिएर नेपालमै उद्योग खोलेर नेपालमा नै उत्पादन गर्न उद्योगलाई मात्रै छुट दिइएको बताएका छन । विहीबार इकोनोमिक मिडिया सोसाइटी(इम्सान)सँगको भेटमा अर्थमन्त्रीले व्यक्तिगतरुपमा कसैले घाटा फाइदाभन्दा पनि देश बनाउने उद्देश्यले कर छुट दिइएको बताएका हुन । अर्थमन्त्री शर्माले भने, कर सहुलियतपछि १२ वटा मोटरसाइकल उद्योग खुल्दैछन् यसको रिजल्ट छ महिनाभित्र आउछ । फलाम उद्योग पनि २०–३० वटा खुल्दै छन र धौवादी फलाम खानी उद्योगबाट कच्चा पदार्थ खन्न शुरु हुन्छ । 

अर्थमन्त्री शर्माले स्टिल उद्योगले आयात गर्ने कच्चा पदार्थ (स्पोन्ज, आईरन)को आयातमा शून्य भन्सार र शून्य अन्तःशुल्क लगाउने निर्णय नेपालमा उद्योगको विकास गर्न र विद्युतको खपत बढाउन भएको बताउँदै यस विषयलाई गलत रुपमा व्याख्या गर्न खोजिएको बताएका छन् । 

उनले भने, 'हाल दुई–तीन सय मेगावाट विद्युत खेर गएको छ । त्यो विद्युत खर्च गर्ने गरी कार्यक्रम ल्याउन गलत हो ? नेपाली भएर बुझौं न । हामीले देश बनाउने कुरा गरेको हो । अरु केही गलत गरेको छैन् । कसैलाई घाटा हुने कुरा गरेको छैन् ।’

उनले भने, ‘हामीसँग सिमेन्ट छ । हामीसँग बालुवा गिट्टी छ । हामीसँग फलाम भयो भने निर्माणमा हामी आत्मनिर्भर भएनौं ?’ अरु देशको विकास फलाम खानीबाट भएको शर्माले उदाहरण दिए । 

देशका लागि निर्णय गर्दा सबै खुशी हुनहुने बताउदै देश बनाउनका लागि इमान्दारी पूर्णरुपमा लागि रहने उनले बताए । अनलाइन मिडियालाई समेत अर्थमन्त्रालयले न्याय गर्नका लागि यस वर्षको बजेट पनि वृद्धि गरेको स्मरण गराउदै उनले भने, 'अर्थमन्त्रालयले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनका लागि गृह कार्य गरिरहेका छौं । यसमा अर्थमन्त्रालयको मात्र हात नहुने भएकाले सञ्चारमन्त्रालयसँग सल्लाह गरेर लोकल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउन पहल भइरहेको छ ।' 

सार्वजनिक खरीद नियमावलीअनुसार सरकारका जुनसुकै निकाय, संस्थान, समिति, बोर्ड र पब्लिक कम्पनीहरूले प्रकाशन गर्नुपर्ने सार्वजनिक सुचनाहरू अझै पनि राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेकाले खरीद नियमावलीको उक्त व्यवस्था संशोधन गरी विज्ञापनदाताले आफ्नो इच्छाअनुसार राष्ट्रियस्तरका दैनिक पत्रिका वा अनलाइन मिडियामा पनि प्रकाशन गर्न सक्ने व्यवस्था गर्नलाई इम्सनले आग्रह गरेको छ। 

त्यस्तै वित्तीय कारोबार गर्ने कम्पनीहरूले प्रवद्र्धनका लागि कति खर्च गर्ने भन्ने कुरा स्पष्ट मापदण्ड नहुँदा विशेषगरी बहुर्राष्ट्रिय कम्पनीले आफ्ना उत्पादनको विज्ञापनका लागि नेपालमा पर्याप्त खर्च नगर्ने, मुलुकबाहिरबाटै सामाजिक सञ्जालमा गर्ने प्रवृत्ति रहेकाले पारदर्शीरुपमा खर्च भएनभएको अनुगमन गर्ने व्यवस्था गर्नलाई समेत इम्सनले आग्रह गरेको छ। 

कतिपय कम्पनीहरूले बहुर्राष्ट्रिय कम्पनीको प्रवद्र्धनको रकम होडिङ बोर्डमा मात्रै खर्च गरेर आमसञ्चारका मिडियामा नगर्ने गरेको देखिएको र यसरी शहरमा जथाभावी होडिङबोर्ड राख्ने प्रवृत्तिले शहरको सुन्दरमा पनि घटेकाले यसमा मापदण्ड तोक्नलाई समेत इम्सनले आग्रह गरेको छ।

त्यस्तै सामाजिक सञ्जालमा भइरहेको अवैध विज्ञापनलाई करको दायरामा ल्याउनलाई समेत इम्सनले आग्रह गरेको छ। नेपालको मिडिया उद्योगलाई असर नपर्ने गरी यस्तो विज्ञापनमा खर्चको मापदण्ड तोक्नलाई तथा मुलुक बाहिरबाट सामाजिक सञ्जालमा हुने सबै खालका विज्ञापनलाई नियन्त्रण गर्नलाई इम्सनले आग्रह गरेको छ। 

सामाजिक संजालमा आफ्ना सामग्रीको प्रवर्दन तथा प्रचार प्रसारलाई ब्यापक बनाउन पेपाल लगायतका माध्यमबाट करोडौं रुपैयाँ बाहिर गएको भन्दै निश्चित रकम सम्मको डलर कार्डको व्यवस्था गर्नलाई इम्सनले यस अगाडीको नेतृत्वसँग आग्रह गरेको थियो र सोहि अनुसार राष्ट्र बैंकले पनि डलर कार्डको व्यवस्था गरेको छ।

त्यस्तै शेयरबजारबारे भएको एक फरक प्रसंगमा अर्थमन्त्री शर्माले बजार आफुले बोलेको आधारमा नभई बजारको माग र आपूर्तिका हिसाबले चल्ने बताउदै आफुले शेयरबजारमा कुनै हस्तक्षेपकारी काम नगरेको स्पष्ट पारे। 

त्यस्तै कुरा सत्य नभएपनि मिडियामा आएका कुराबाट सर्वसाधारणले एउटा सोच तय गर्ने भएकाले अनावश्यक कुरा लेखेर बजारमा भ्रम छर्न नहुने समेत उनले बताए। आफुहरुले स्यानीटरि प्याडमा कर लगाउने वा बढाउने जस्ता बिषयमा केहि व्यवस्थानै नगरेको बताउदै उनले यस प्रकारका गलत कुरा चिर्नलाई समेत असल मिडियाहरुको धर्म भएको बताए।  

उक्त कार्यक्रममा  अर्थमन्त्रालयबाट  अर्थसचिव मधुकुमार मरासिनी, अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती लगायतको उपस्थिति थियो। 

 इम्सनका अध्यक्ष तथा कर्पोरेट नेपाल डटकममा सम्पादक सिताराम विलासीको नेतृत्त्वमा भएको अर्थमन्त्रीसँगको भेटमा इम्सनका उपाध्यक्ष तथा आर्थिकन्युज डटकम प्रमुख कार्यकारी अधिकृत इन्द्र बानिया, इम्सनका महासचिव तथा बिजपाटी डटकमका बजार प्रबन्धक लोचन खतिवडा, इम्सनका सचिव तथा नोटबजारका बजार प्रमुख कविराज लम्साल, अर्थपथका सम्पादक बिष्णु तालिके, अर्थबजार डटकमका सम्पादक डिल्ली सापकोटा, बिजपाटी डटकमका संस्थापक तथा सम्पादक मोहम्मद अज्मत अलि लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस