काठमाडौं । नक्कली स्टिकरको कारोबार गर्ने दुई डिस्टिलरीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार क्रिस्टल बोटलर्स प्रालि र माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिविरुद्ध मुद्दा दायर गरेको हो ।
राजस्व छलीमा संलग्न यी मदिरा कम्पनीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ । नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको पुष्टि भएसँगै यी कम्पनीहरूविरुद्ध विभागले मुद्दा दायर गर्दै ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ बिगो माग दाबीसमेत गरेको छ ।
विभागका अनुसार क्रिस्टलले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्दै आएको थियो । यसका सञ्चालक फुलसिंह क्षत्री हुन् । विभागले मुख्य अभियुक्तका रूपमा क्रिस्टलका क्षत्रीलाई नै लिएको छ ।
यसैगरी, माउन्ट एभरेष्ट डिस्टिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई पनि विभागले मुख्य अभियुक्तमध्ये मानेको छ । यी दुई कम्पनीका गरी कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलास ९रुपन्देही०मा मुद्दा दायर गरेको हो ।
तीन महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट नक्कली अन्तःशुल्क स्टिकरसहित दुई जना भरियालाई पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । विभागले सुरुवाती दिनमा अनुसन्धानमा ध्यान दिएको थिएन ।
अनुसन्धान विभागको नेतृत्वमा प्रकाश पौडेल आएपछि उनले अनुसन्धानलाई चासोका साथ अघि बढाएका थिए । ती भरियाले भारतीय नागरिक बाबुराजा कशोधनको नाम लिएपछि प्रहरीले भारतबाट कशोधनलाई पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि बरामद गरिएको स्टिकर क्रिस्टल र माउन्ट एभरेस्ट डिस्टिलरीले प्रयोग गर्ने सिरियल नम्बर मिलेपछि दुवै डिस्टिलरीमा विभागले छापा मारेको थियो ।
तर, अनुसन्धान कार्यालय बुटवलले प्रक्रिया नै पूरा नगरी उद्योग सञ्चालन अनुमति दिएको थियो । त्यसपछि विभागका महानिर्देशक पौडेलले अनुसन्धान कडाइका साथ अघि बढाउन निर्देशन दिएपछि नक्कली स्टिकरको मुख्य कारोबारी ‘भीम’ भनिने कुलप्रसाद पण्डित नाम गरेका व्यक्ति पक्राउ परेका छन् । उनलाई पक्राउ गरेपछि विभागले अनुसन्धानलाई निष्कर्षमा पु(याएको हो । यसैगरी, विभागले नक्कली स्टिकर प्रयोग गरेको अभियोगमा उनीहरूसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
जसमा क्रिस्टलका सञ्चालक फुलसिंह क्षत्री र प्रदीप क्षत्री छन् । यस्तै, माउन्ट एभरेस्टका सञ्चालक मृगेन्द्र गोविन्द, प्रतिभा श्रेष्ठ, मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ छन् । सो राजस्व छली कारोबारमा सहयोग गर्ने मोहम्मद सहिद अन्सारी, अमानत अली रुपन्देही बुटवल उपमहानगरपालिका स्थायी ठेगाना भएका राजा कशोधन भनिने विनय कशोधन छन् । यसैगरी, सर्लाही लालबन्दीका हरिप्रसाद पौडेल, कुलबहादुर पण्डित मुख्य अभियुक्त रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस