aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज झन अन्यौलमा, राष्ट्र बैंकलाई मनाउन दौडधुप गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज झन अन्यौलमा, राष्ट्र बैंकलाई मनाउन दौडधुप गर्दै

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर अझ अन्यौलमा परेको छ । दुवै बैंकले एक आपसमा मर्ज गर्नका लागि बनाएको मर्जर कमिटीको बैठक नै बस्न सकेको छैन ।     

बैंकको मर्जमा सरकार परिवर्तन पनि जोडिएको छ । मर्जका लागि बनेको कमिटीले दुवै बैंकको कर्मचारी समायोजन कार्य योजना पेस गर्‍यो त्यसपछि दुवै बैंकका कर्मचारीहरूको ग्रेड मिलान गर्‍यो । सोही समयमा सरकार परिवर्तन भएपछि एकाएक हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जमा अर्थमन्त्रालयबाट हस्तक्षेप भएको बैंक स्रोतको भनाई छ ।    

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँड्नका लागि नै कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतम परिवर्नत भएका हुन स्रोतले भन्यो । स्रोतका अनुसार मर्जमा दुवै बैंकको कारोबार प्रणाली टुङ्ग्याउने विषयलाई लिएर लामो समयसम्म मर्ज कमिटीको बैठक नै बस्न नसकेको हो ।      

मर्ज कमिटी लामो समयसम्म नबस्नुमा हिमालयन बैंकका सञ्चालक मनोजबहादुर श्रेष्ठले ठूलो भूमिका निभाएको आरोप छ । श्रेष्ठले हिमालयन बैंक इन्भेष्टमेन्टसँग मर्ज नगराउने उद्देश्यले नै आफ्ना नजिकका मित्र तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मार्फत कर्मचारी लगानी कोषको प्रमुख परिवर्तन गराएका थिए । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासक हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष रहेकाले कर्मचारी सञ्चय कोषबाट तत्कालीन प्रशासन हटाइपछि हिमालयन बैंक अध्यक्ष विहीन बन्यो ।  

सोही समयमा सञ्चालक समिति अध्यक्ष परिवर्तन भएसँगै दुई बैंकको मर्जमा सङ्कट  झन गहिरिँदै गएको हो । सुरुदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान अनिच्छुक देखिएका मनोज बहादुर श्रेष्ठका भाइ प्रचण्ड बहादुर श्रेष्ठ हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष बनेपछि दुई बैंकबीचको मर्जर सङ्कट देखिएको छ ।   

अध्यक्ष श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक शेयरधनी पनि हुन् । यी दुवै मर्जका सुरुवातीदेखि नै  इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान त्यति इच्छुक थिएनन् । हिमालयन बैंकमा अन्य बैंक मर्ज गरेर ल्याएर बैंकमा यी दुई जनाको प्रभुत्व जमाइ राख्ने चाहन्थे । हिमालयन बैंकका अर्का धेरै शेयर भएका सुनिलबहादुर थापा र सिपी खेतानले इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्न जोड गरेपछि यी दुई दाजु भाइ मर्ज भाँड्न लागेका थिए ।  

तर, हिमालयन बैंक तत्कालीन सञ्चालक समिति अध्यक्ष रहेका गौतमले हिमालयन बैंकका अर्को ठूलो शेयर होल्ड गर्ने समूह राणा समूहको मनसाय अनुसार इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सहमति गरे गराएका थिए । तर, गौतम हटेसँगै अध्यक्ष भएर आएका श्रेष्ठ निर्णायक हुने र राणा समूह थप कमजोर भएपछि इन्भेष्टमेन्टसँगको मर्जरले गति लिन छोडेको छ ।  

हिमालयन बैंकका शेयरधनी दाजुभाइ मनोज बहादुर श्रेष्ठ र प्रचण्ड बहादुर श्रेष्ठ इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को अनुपातमा मर्जरमा जान नहुने अडानमा थिए । अहिले हिमालयन बैंकमा सोही समूह हाबी भएपछि मर्जरमा समस्या आउन सक्ने देखिएको छ ।

‘हिमालयन बैंकले गत वर्षको चौथो त्रैमाससम्ममा नै २ अर्ब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति विक्री गरेर त्यस्तो रकमबाट बोनस शेयर दिएर बैंकको सम्पत्ति सकेको आरोप लाग्न थालेको छ । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब १५ करोड रुपैयाँ बराबरको आफ्नो सम्पत्ति बिक्रीबाट आम्दानी देखाएको छ ।  

यता हिमालयन बैंकले मर्ज भाडेको आरोपबाट बच्नका लागि नेपाल राष्ट्र बैंकलाई मनाउनका लागि अन्य सङ्कटमा पर्ने अवस्थामा रहेका विभिन्न बैंकहरुसँग हिमालयन बैंक मर्ज गराउन लागि परेको छ । हिमालयन बैंकले मेगा बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक लगायतका बैंकसँग मर्जको प्रस्ताव लिएर हिमालयन बैंकका नयाँ अध्यक्ष गएको बैंक स्रोतको दाबी छ ।    

 

प्रतिक्रिया दिनुहोस