काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल ५ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७३.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको असोजसम्म २ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
मासिक रूपमा हेर्दा भदौमा करिब साढे २४ प्रतिशत बढेको विदेशी लगानीले असोजमा पनि वृद्धिकै प्रवृत्ति पछ्याएको हो । यस अवधिमा अरुण तेस्रो जलविद्युत् आयोजना, अपर तामाकोसी हाइड्रोपावरलगायत २८ कम्पनीमा विदेशी लगानी आएकाले एफडीआई वृद्धिदर राम्रो देखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘
गत आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी लगानी थोरै आएको थियो,’ उनले भने, ‘यो आर्थिक वर्षको तीन महिनामा केही बढेकाले तुलनात्मक रूपमा विदेशी लगानीको वृद्धिदर राम्रो देखिएको हो ।’ यद्यपि अपेक्षित रूपमा अझै विदेशी लगानी आउन भित्रिन नसकेको उनले स्विकारे । आर्थिक वर्ष २०७६र७७ मा करिब ४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो ।
पछिल्ला महिनामा आएको विदेशी लगानी नयाँ नभई पहिल्यै स्वीकृत रकम भएको प्रवक्ता ढकालले बताए । ‘केही महिनायता नयाँ लगानीजस्तो लाग्दैन, पहिल्यै स्वीकृत लगानी आएको हुन सक्छ,’ उनले भने, ‘सुरुका एकरदुई महिनाका आधारमा वर्षभरको विदेशी लगानी अनुमान गर्न अप्ठ्यारो हुन्छ ।’ मुलुकमा राजनीतिकलगायत सबै वातावरणमा सुधार आउन सके आगामी दिनमा विदेशी लगानी पनि बढ्ने उनको अनुमान छ ।
असोजसम्म नेपाल आएको विदेशी लगानीमध्ये अरुण तेस्रो जलविद्युत् आयोजनामा मात्र भारतबाट करिब ३ अर्ब ६८ करोड रुपैयाँ आएको छ । अपर तामाकोसी हाइड्रोपावरमा मौरिससबाट २२ करोड ३३ लाख, दराज नेपालमा सिंगापुरबाट ३३ करोड ५१ लाख रुपैयाँ र एनआरएन फन्डमार्फत विभिन्न मुलुकबाट करिब १३ करोड रुपैयाँ विदेशी लगानी आएको छ । उल्लिखित चार कम्पनीमा मात्र कुल ४ अर्ब ३६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । बाँकी २४ कम्पनीबाट ससानो आकारमा गरी करिब ७० करोड १६ लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ६५ प्रतिशत विदेशी लगानी घटेको थियो । तर भदौ र असोजमा लगातार विदेशी लगानी बढिरहेको छ । गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यतिबेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको थियो ।
यद्यपि गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको थियो । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको राष्ट्र बैंकको विदेशी लगानी सर्वेक्षणले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस