काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिकनीति २०७८ को प्रथम त्रैमासिक समीक्षामा नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । यसैगरी समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलकउद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने उल्लेख छ । यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने भन्दै परिसंघले स्वागत गरेको छ ।
विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको छ । साथै गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघको बुझाइ रहेको छ ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढ्दै गएका बेला राष्ट्र बैंकबाट मौद्रिकनीतिको समीक्षा भएको छ । आर्थिक क्षेत्रमा कोभिड–१९ को असर कमहुँदै गएकोले आर्थिक क्रियाकलापहरू विस्तार हुँदै जाने र विदेशी पर्यटकको आगमन बढ्न गई आर्थिक पुनरोत्थानमा सहयोग हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ । साथै निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढ्दै गएकाले केही समय तरलताको चाप विद्यमान रहने आँकलन राष्ट्र बैंक आफैँले गरेको परिसंघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले आगामी दिनहरूमा मुद्रास्फीतिमा समेत चाप पर्ने आँकलन गरेको छ ।
मौद्रिक नीतिको समीक्षा मार्फत चालु आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत नै कायम गर्दै त्यसको कार्यान्वयनको खाका िनर्माण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएको छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्त भित्रमा कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्ययोजना तयार गरी सञ्चालक समितिबाट पास गारई राष्ट्र बैंक समक्ष पुझाउन पर्नेछ । समीक्षामार्फत २०७९ असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने गरी लचकता अपनाएको छ । यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केहि राहतहुने परिसंघको धारणा रहेको बताएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको संचितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेत देखाएको छ । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चापदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह समेत गरेको छ । राष्ट्र बैंकले यस मौद्रिक नीतिमार्फत चाँदीको आयातमा समेत कडाई गरेको छ ।
राष्ट्र बैंकले समिक्षा मार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ । औद्योगिक कच्चापदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले आवाज उठाउँदै आएको समेत परिसंघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस