काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य ३६५ दशमलव २० रुपैयाँको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य ३३२ रुपैयाँ तोकेको हो ।
बैंकले यस वर्ष गत आर्थिक वर्र्र्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांंश वितरण गर्ने तयारी गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले वार्षिक साधारण सभाको मिति समेत तय गरिसकेको छ । प्रस्तावित उक्त लााभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस