काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकको प्रस्तावित १७ दशमलव ५८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको मंगलवार कायम अन्तिम मूल्य ६७२ दशमलव १० को आधारमा बोनस शेयरपछिको मूल्य ५७१ दशमलव ६४ तोकेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस शेयरसँगै शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस शेयरपछिको मूल्य तोकेको हो । बुक क्लाजको आधारमा मंसिर १४ गतेभित्र शेयर कायम गर्नेहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल बैंकको चुक्तापूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस