aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छः प्रधानमन्त्री देउवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । एक समारोहमा उनले  स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर  नेपालमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले भने, “नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म  विश्वास दिलाउन चाहन्छु ।”

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उनले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने छ । 

प्रधानमन्त्री देउवाले भने, “मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु पर्यो, अहिले हामी थेरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।”

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । उनले भने,  “नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्कै  अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पूँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानुनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुकमा विकासलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन र योजना छनोट प्रक्रियालाई पारदर्शी तुल्याउन अत्यन्त आवश्यक रहेको बताए । उनले भने, “विकास निर्माणमा कायम रहेको लाइसेन्सराजको सम्पूर्ण हिसाबले अन्त्य हुनुपर्छ, विकासका योजनालाई कसरी बढाउने भन्ने स्पष्ट खाका आवश्यक छ, आयोजना कार्यान्वयन हुन नसकेर बजेट रकमान्तरण हुने परिस्थिति रोकिनुपर्छ ।”

उद्योगपति एवं सांसद विनोद चौधरीले राज्यका नियमनकारी संस्थालाई चुस्त तुल्याउँदै अर्थतन्त्रको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष  शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई सुदृढ तुल्याउन महासङ्घले तयार गरेको योजनालाई अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस