aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । नारायाणी डेभलपमेण्ट बैंकले पुस ७ गतेदेखि शतप्रतिश हकप्रद शेयर निष्कासन गर्र्ने भएको छ । यस अघिनै बुक क्लोजको मिति तय गरिसकेको बैंकले निष्कासनको मिति भने शुक्रवार तय गरेको हो ।

हकप्रद शेयर प्रयोजनका लागि भने बैंकले मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि योग्य हुनेछन् । गत असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मंसिर ३ गते बोर्डबाट अनुमति पाएको हो । 

बैंकले १ बराबर १ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद शेयर खरिदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् । 

बैंकको यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ । यस अघि पनि बैंकले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

बैंकले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न बैंकलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको हो ।

पूँजी वृद्धिमा जोड दिईरहेको यस बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति ३५ करोड २१ लाख ३४ हजार रुपैयाँ छ । गत वर्ष यसै अवधिसम्म बैंकको कुल सम्पत्ति ३२ करोड ५७ लाख ७२ हजार रुपैयाँ थियो । यस वर्ष बैंकको कुल सम्पत्ति रकम पनि बढेको छ । पहिलो त्रैमाससम्म बैंकको  जगेडा कोष रकम १७ करोड ८ लाख ४४ हजार रुपैयाँ र शेयर प्रिमियममा २९ लाख ५६ हजार रुपैयाँ छ । यस अवधिसम्म बैंकले ९ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनी ४७ लाख ४ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । यस वर्ष खुद नोक्सानी कम गर्न कम्पनी सफल भएको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ ६५ दशमलव ३९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने २ दशमलव ७८ रुपैयाँ ऋणात्मक छ । हाल १३ करोड ं१२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस