काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज नेपाल राष्ट्र बैंक पुगेको छ । दुबै बैंकले राष्ट्र बैंकले उपलब्ध गराएको ६ महिनाको समयसिमा गुजारेपनि पुन राष्ट्र बैंकमा समय थपको पत्र पठाएका छन् । हिमालयन र इन्भेष्टमेण्ट बैंकले मर्जका लागि थप समय आवश्यक भएकोभन्दै राष्ट्र बैंकमा पत्र आइपुगेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले बताए ।
आपसमा मर्जरको प्रारम्भिक सहमती गरी राष्ट्र बैंक पुगेका यी बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृत समेत पाइसकेको थिए । मर्जर नीतिअनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनुपर्ने हुन्छ ।
तर, उनीहरुले समय थप माग गरेका छन् यसमा राष्ट्र बैंकले पत्रमा लेखिएको व्यहोरा हेरेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए । उनले भने, ‘राष्ट्र बैंकले दिएको समयसिमामा उनीहरुले मर्ज गर्न नसक्नाको कारण के रहेछ हेरेर राष्ट्र बैंकले थप समय कति दिने भन्ने निर्णय गर्छ ।’
यता मर्जमा दुबैं बैंकबाट समस्या झिकिएको खबर समेत बाहिर आइरहेको छ । यहि बेलामा इन्भेष्टमेन्ट बैंकले आफ्नो साधारणसभा समेत सकेको छ । भने हिमालयन बैंकले आफ्नो सञ्चालक समितिमा मर्जका लागि प्रष्ट धारणा बनाउन नसकेका कारणले मर्ज हुने वा नहुने अझै प्रष्ट नभएको हिममालयन बैंकका एक बोर्ड सदस्यले बताए।
उनले भने, ‘६ महिना पहिला इन्भेष्टमेन्ट बैंकसँग मर्जका लागि सबै जनाले सहमति गरेर सम्झौता गरेका थियौं तर, फेरि दुबै बैंकमा माथिल्लो तहमा बसेका पदाधिकारीहरुले नै मर्जमा इन्टेरेन्ट नदेखाएको जस्तो देखियो । तर, राष्ट्र बैंकले दिएको समयसिमा सकिएकाले केहि समय माग गरेर दुबै बैंकमा उच्च पदमा बसेकाहरुलाई सम्झाउन सकिन्छ कि भनृेर समय थप्नका लागि राष्ट्र बैंकलाई पत्र लेख्ने निर्णय गरेको हो ।’
प्रतिक्रिया दिनुहोस