काठमाडौं । पुस महिनामा बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाले ब्याजदर बढाएर पनि निक्षेप नबढ्ने स्थिति देखिएपछि सबै बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘चालू आर्थिक वर्षको तीन महिनामा ८० अर्ब बराबरको निक्षेप वृद्धि हुँदा करिब ४ सय अर्ब बराबरको लगानी भएको छ । बजारमा ऋणको माग अत्यधिक भएका कारण कर्जा प्रवाह गर्न बैंकहरु बाध्य छन् ।’
बैंकहरुको त्रैमासिक ऋण प्रवाहको योजनाको सीमामा नबस्दा लगानीयोग्य तरलताको अत्यधिक अभाव भएको उनको भनाई छ । उनले भने, ‘सबै बैंकहरुले आफ्नो लगानी गर्ने योजना भन्दा अत्यधिक धेरै ऋण प्रवाह गरेका छन् । बैंकमा ऋणीहरूको ठूलै भिड लाग्ने गरेका कारण पनि बैंकहरुको योजना भन्दा फरक ऋण प्रवाह भइरहेको छ ।’
कोरोना महामारीको पहिलो लहर सकिएपछि अर्थतन्त्रमा पर्दै गएको सकारात्मक प्रभावका कारण सबै उद्योग व्यवसाय विस्तारमा लागेका कारण ऋणको माग बढ्नु स्वाभाविक भएको सिईओ कोइराला बताउँछन् ।
उनका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा माछापुच्छ्रे बैंकले मात्रै चार अर्ब निक्षेप सङ्कलन गर्दा १७ अर्ब बराबरको ऋण लगानी गरेको छ । उनले भने, ‘राष्ट्र बैंकको कर्जा स्रोत अनुपातको गाइडलाइन भित्रै रहेर हाम्रो बैंकले लगानी गरिरहेको छ । अहिले माछापुच्छ्रे बैंकको कर्जा स्रोत अनुपात रेसियो ९० प्रतिशतको हाराहारीमा रहेको छ ।’
साथै उनले धेरैजसो वाणिज्य बैंकहरुको कर्जा स्रोत अनुपात ९७ प्रतिशतसम्म पुर्याइसकेका कारण वित्तीय क्षेत्र झन् समस्यामा परेको बताए ।
त्यस्तै, नेपाल बैंकर्स संघको कार्यसमिति सदस्य तथा मेगा बैंकको सिईओ अनुपमा खुञ्जेली पनि पुस महिनामा ब्याज बढाउने स्थिति नरहेको बताउँछिन् ।
‘ब्याजले मात्र डिपोजिट आउने होइन रहेछ । यसअघि ब्याज बढाए पनि बैंकहरुमा डिपोजिट आएन’, खेञ्जेली भन्छिन्, ‘ब्याज बढाएर ऋणमा समायोजन गर्न पनि हामीले पाउँदैनौँ । प्रिमियम चेञ्ज गर्न नपाउने भन्ने छ राष्ट्र बैंकको नियममा । जसले गर्दा ब्याज बढाएर बैंकको स्प्रेडदर पनि ३ प्रतिशतमा आउने अवस्था आइसकेको छ । त्यसैले सबै जनाले यसैमा फाइदा देखेका कारण ब्याजदर नबढाउने सहमतिमा आएका हुन सक्छन् ।’
मंसिरमा निर्धारण गरिएको ब्याज पनि कम भने नरहेको भन्दै अहिलेको अवस्थामा मंसिरमै तोकिएको ब्याज पुसमा पनि लागू हुने देखिएको उनको भनाई छ । उनी भन्छिन्, ‘अहिले रेट बढाएर भोलि गएर यसको असर ऋणको ब्याजदरमा नै पर्ने हो । फेरि उता व्यापारीहरूले दोहोरो अङ्कमा ब्याज पुग्यो हामी धान्न नसक्ने भयौँ भनेर गुनासो गर्छन् । यसको दोष बैंकहरुले नै लिनुपर्ने हुन्छ । यसले गर्दा पुसका लागि ब्याजदर नबढाउने निर्णय गरिएको देखिन्छ ।’
बैंकहरुले तरलता सङ्कट बढेसँगै निक्षेप सङ्कलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा ब्याजदर बढाएर थिए । मंसिरका लागि बैंकहरुले १०.५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका थिए भने विकास बैंकले १०.५ प्रतिशत र फाइनान्सले १०.३५ प्रतिशत ब्याज तय गरेका थिए । अब पुस महिनामा पनि सोही ब्याजदर कायम हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस