काठमाडौं । मंसिर १६ गतेदेखि विक्रीमा आएको गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने पुस १ गते बिहीवार अन्तिम दिन रहेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र मंसिर २० गतेसम्मका लागि निष्कासन गरेको थियो ।
उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेपछि बैंकले पुस १ गतेसम्मका लागि अवधि थप गरेको थियो । बैंकले प्रतिऋणपत्र रू.१ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्र मध्य ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत विक्री गर्नेछ । बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्तामध्य पनि ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ३ लाख ८० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री खुला गरेको हो ।
यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
बैंकको यस ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकले यो ऋणपत्र विक्रीका लागि कात्तिक १७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो ।
यस बैंकको अधिकृत पूँजी रू. ५ अर्ब रहेको छ भने जारी पूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रहेको छ । जारी पूँजी बराबरको रकम बैंकले चुक्ता गरिसकेको छ । बैंकमा संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म बैंकले रू. ४ अर्ब ३७ करोड ४३ लाख ३६ हजार चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस