काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २३ र २४ गते कारोबार नहुने हुँदा पुस २२ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।
प्रतिक्रिया दिनुहोस