काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ९८७ को आधारमा नेप्सेले हकप्रद पछिको मूल्य रू. ४५४ दशमलव ८० तोकेको हो । कम्पनीले माघ ७ गतेदेखि निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि पुस २६ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् ।
कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।
आर्थिक वर्ष ०७९÷८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।
प्रतिक्रिया दिनुहोस