काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गतेका लागि बोलाएको २०औं वार्षिक साधारण सभा स्थगित भएको छ । सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको जानकारी कम्पनीले दिएको हो ।
स्थगित सभा माघ ३ गतेका लागि पुनः आव्हान गरिएको छ । कमनपीको पुस २५ गतेनै बसकेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट हुने जानकारी समेत कम्पनीले गराएको छ ।कम्पनीले सभाका लागि तय भएको लसञ्चालक निर्वाचनको कार्यक्रम समेत हाललाई स्थगित गरेको छ । कम्पनीले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशलाई पालना गर्दै स्थगित गरेको हो ।
बैंकका शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले उच्च अदालत पाटनमा निवेदन दिएको बैंकले जानकारी दिएको छ । उक्त निवेदन उपर माघ ३ गते छलफल पेशी तोकिएकाले सो अवधिसम्म निर्वाचनको बाँकी काम कारवाही नगर्ने निर्णय बैंकले गरेको हो । उच्च अदालतको अन्तरिम आदेशलाई पालना गर्दै अर्को निर्णय पछि मात्र निर्वाचनको कार्यक्रम अघि बढ्ने जानकारी बैंकले दिएको छ ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष बैंकले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।
यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस