काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते सोमवारदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
८ वर्षे अवधिको यो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने व्यवस्था छ । छिटो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । बैंकको यस ऋणपत्रलाइ केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।
प्रतिक्रिया दिनुहोस