aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वित्तीय क्षेत्रमा कोरोना कहरः सेवा प्रवाह प्रभावित, वाणिज्य बैंकको निक्षेपमा पनि गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
वित्तीय क्षेत्रमा कोरोना कहरः सेवा प्रवाह प्रभावित, वाणिज्य बैंकको निक्षेपमा पनि गिरावट

काठमाडौं । बैंकमा आवद्ध कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन थालेपछि बैंकिङ सेवा प्रभावित बनेको छ । हालसम्म ६ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।    

वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले महामारीको तेस्रो लहरले बैंकका धेरै कर्मचारी कोरोना संक्रमित भएपछि बैंकका विभिन्न शाखा कार्यालयहरु बन्द गर्नुपरेको जनाएको छ । बैंकर्स एसोसिएसनका अनुसार हालसम्म १७ वटा वाणिज्य बैंकका १४२ वटा शाखा कार्यालय बन्द भएका छन् । जसमा एनआईसी एशिया बैंकका ३५ वटा शाखा कार्यालय बन्द भएका छन् भने नबिल बैंकका १९ वटा शाखा बन्द भएका छन् । 

त्यस्तै, प्राइभ बैंकका १५ वटा र राष्ट्रिय वाणिज्य बैंकका १५ वटा शाखा कार्यालय हाल बन्द भएका छन् । प्रभु बैंकका ९ वटा, सेञ्चुरी बैंकका ८ वटा, सिभिल बैंकका ७ वटा, मेगा बैंकका ७ वटा, सनराइज बैंकका ६ वटा, ग्लोबल आईएमई बैंकका ४ वटा शाखा बन्द भएका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका ३ वटा, एनएमबि बैंकका ३ वटा, सिद्धार्थ बैंकका ३ वटा, कुमारी बैंकका २ वटा, नेपाल बंगलादेश बैंकको १ वटा र माछापुच्छ्रे बैंकका २ वटा शाखा कार्यालयहरु हाल बन्द रहेका छन् । 

वाणिज्य बैंकहरु बाहेक फाइनान्स कम्पनीहरुमा पनि कोरोनाको प्रभाव देखिएको छ । धेरै कर्मचारीहरुमा कोरोना संक्रमण भएका कारण फाइनान्सको सेवा प्रवाह प्रभावित बनेको हो । कतिपय फाइनान्स कम्पनीका कार्यालयहरु बन्द पनि भएका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले कोभिड १९ महामारी पहिलो र दोस्रो भेरियन्टभन्दा अहिलेको भेरियन्टमा वित्तीय संस्थाका कर्मचारीहरु धेरै संक्रमित भएको बताउँछन् ।   

उनी भन्छन्, ‘कोरोनाको पहिलो र दोस्रो भेरियन्ट भन्दा अहिलेको भेरियन्टमा वित्तीय संस्थाका कर्मचारीहरु धेरै संक्रमित भएका छन् । वित्तीय संस्था संघका कर्मचारीमा कोरोना संक्रमण भएका कारण अहिले सचिवालय समेत बन्द भएको छ । यसले गर्दा कति संख्यामा वित्तिय कर्मचारी संक्रमित भए भन्ने तथ्यांक छैन ।’ 

त्यस्तै, उनले वित्तीय संस्थाहरु बन्द भएपनि सेवा प्रवाह भने प्रभावित नभएको दाबी गरे । तुलाधारले भने, ‘पहिलो लकडाउनदेखि नै डिजिटल कारोबार सुरु गरिएका कारण हामीले सेवा रोकेका छैनौं । डिजिटल माध्यमबाट भएपनि सेवा दिइरहेका छौं । उल्लेख्य मात्रामा डिजिटल कारोबार बढेको छ ।’ 

यता, कोरोना महामारीको असर वाणिज्य बैंकहरूको निक्षेपमा पनि देखिएको छ । गत पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार सोमबारसम्म वाणिज्य बैंकहरूको कूल निक्षेप ४३ खर्ब ११ अर्बमा सिमित भएको छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो ।  

तर, कर्जा प्रवाहमा भने वृद्धि भएको देखिन्छ । संघको तथ्यांक अनुसार पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक अर्बले बढेको हो । सोमबारसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ४४ अर्ब कर्जा प्रवाह गरेका छन् । यसअघि पुस मसान्तसम्म यी बैंकहरुले ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस