aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हिमालयन बैंकको नाफा करिब १४ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
हिमालयन बैंकको नाफा करिब १४ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष रू. ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । 

यस वर्ष बैंकको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने रू. २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ३९ करोड १३ लाखभन्दा बढी थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । बैंकको जगेडा कोष रकम पनि ६ महिनामा रू. २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू. ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग ) सहित रकम पुस मसान्तसम्म रू. ७ अर्ब १५ करोड १२ लाखमा सिमिति भएको हो । यस अवधिसम्म बैंकको रिटेन्ड अर्निग रू. २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू. ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । 

गत असार मसान्तको तुलनामा बैंकले १७ दशमलव ३७ प्रतिशत बढी रू. १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी रू. १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ०५ छ ।
 

प्रतिक्रिया दिनुहोस