काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत २६ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको आधारमा एभरेष्ट बैंकको सम्भावित प्रतिफल सबैभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको यी बैंकहरुको चुक्तापूँजी र वितरण योग्य मुनाफाको आधारमा निकालिएको सम्भावित प्रतिफलमा एभरेष्ट बैंक अग्रस्थानमा देखिएको हो ।
हाल रू. ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार चुक्तापूँजी रहेको एभरेष्ट बैंकको वितरण योग्य मुनाफा रू. २ अर्ब ४६ करोड ११ लाखभन्दा बढी छ । गत वर्षको मुनाफाबाट कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको बैंकको दोस्रो त्रैमाससम्म सम्भावित प्रतिफल भने २६ प्रतिशत देखिएको हो । यस अवधिसम्म सम्भावित प्रतिफल सर्वाधिक दोस्रोमा नेपाल एसबिआई बैंकको रहेको छ । हाल रू. ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार चुक्तापूँजी रहेको नेपाल एसबिआई बैंकको वितरणयोग्य मुनाफा भने रू. ९८ करोड ६७ लाख ५१ हजार रहेको छ । गत वर्षको मुनाफाबाट कुल ५ दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको नेपाल एसबिआई बैंकको दोस्रो त्रैमाससम्म सम्भावित प्रतिफल भने १० दशमलव ३९ प्रतिशत रहेको हो ।
दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था अनुसार कुमारी बैंकको सम्भावित प्रतिफल सबैभन्दा कम देखिएको छ । हाल रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार चुक्तापूँजी रहेको कुमारी बैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. १३ करोड ८३ लाखभन्दा बढी छ । यस आधारमा बैंकको सम्भावित प्रतिफल सबैभन्दा कम शून्य दशमलव ९४ प्रतिशत देखिएको हो ।
कम्पनीहरुले वितरणयोग्य मुनाफा सहित सञ्चित कोषहरुको रकमबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने गर्दछन् । गत आर्थिक वर्षको लाभांश २६ वाणिज्य बैंकहरुमध्य एनआईसी एशिया बैंकले वितरण गर्न बाकी रहेको छ । एनआईसी एशिया बैंकले गत असार मसान्तसम्म कायम मुनाफाबाट यस वर्षको लागि प्रस्ताव गरेको कुल १५ दशमलव ७८ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । राष्ट्र बैंकले बैंकको पूँजीको तुलनामा व्यवसाय बढी भएको भन्दै लाभांश रद्द गरेको हो । दोस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको सम्भावित प्रतिफल ७ दशमलव ४३ प्रतिशत देखिएको छ । हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रहेको छ भने वितरण योग्य मुनाफा रू. ८५ करोड ९३ लाख ९० हजार छ ।
सूचीकृत २६ वाणिज्य बैंकहरुको सम्भावित प्रतिफलः

प्रतिक्रिया दिनुहोस