काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड १८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीले गत वर्षको तुलनामा ५० दशमलव ५० प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म ५ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ४१ दशमलव ५८ प्रतिशत कम भएको छ । गत वर्ष ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छ्ट्याएकाले कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष २ करोड ४८ लाख रुपैयाँभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम छ्ट्याएको कम्पनीले यस वर्ष ८ करोड रुपैयाँभन्दा बढी छुट्याएको हो ।
सञ्चालन नाफा घटेपनि खराब कर्जा संकलन गत वर्षभन्दा यस वर्ष बढेकाले कम्पनीको खुद नाफा बृद्धि भएको हो । गत वर्ष २ करोड २ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ९ करोड १५ लाख रुपैयाँभन्दा बढी यो कर्जा संकलन गरेको हो । २०७७ साल फागुनमा सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट चुक्तापूँजी १० करोड रुपैयाँको आधारमा ४७ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव मंसिर २२ गतेको वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोष रकम २७ प्रतिशत बृद्धि भई रू. २३ करोड १७ लाखभन्दा बढी पुगेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा करिब ३० प्रतिशत बढी २ अर्ब ४४ करोड रुपैयाँ कर्जा सापटी लिएको छ भने ३८ दशमलव ९४ प्रतिशत बढी ३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीले ४३ दशमलव ५७ प्रतिशत बढी १ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष १ दशमलव ४५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ८४ प्रतिशतट पुगेको छ । कम्पनीको दोस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी ११० दशमलव ९७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५७ दशमलव १३ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस