काठमाडौं । माघ ३ गतेदेखि विक्रीमा आएको एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने अवधि सकिएको छ । बैंकले ऋणपत्रमा छिटो अवधि माघ ६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ १७ गतेसम्म विक्री खुला गरेको हो । अन्तिम दिन साझ ५ बजेसम्म ७ हजार ९६८ जना आवेदकहरुले ४ लाख ६५ हजार २५८ कित्ता ऋणपत्रको खरिद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको छ ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र आम सर्वसाधारणले खरिद गर्न पाउने गरी विक्रीमा आएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको यस ऋणपत्रलाइ केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।
प्रतिक्रिया दिनुहोस