aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरुले ब्याजदर बढाएपछि आत्तिए व्यवसायी, भन्छन्– ब्याजदर वृद्धि बैंकहरुबीचकै आपसि खिचातानीको उपज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ फागुन २०७८
बैंकहरुले ब्याजदर बढाएपछि आत्तिए व्यवसायी, भन्छन्– ब्याजदर वृद्धि बैंकहरुबीचकै आपसि खिचातानीको उपज

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले तरलता अभावलाई कम गर्न भन्दै फागुन महिनाको लागि ब्याजदर बढाएका हुन् । 

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । बैंकहरुले तरलता सङ्कट बढेसँगै निक्षेप सङ्कलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा पनि ब्याजदर बढाएर थिए ।   

ब्याजदर वृद्धि भएसँगै व्यवसायीहरू आत्तिएका छन् । बैंकहरुले बढाएको ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै नोक्सान पुर्‍याउने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘ब्याजदर वृद्धिले समग्र अर्थतन्त्रलाई नै नोक्सान पुर्‍याउँछ । बैंकहरुले बढाएको ब्याजदर बैंकहरुबीच कै आपसी खिचातानीको उपज हो ।’   

बैंकहरुले ब्याज बढाउँदैमा तरलताको सङ्कट नटर्ने उनको भनाई छ । ‘यसभन्दा पहिले पनि बैंकहरुले ब्याजदर बढाएकै हुन् । तर पनि तरलता अभावको समस्या जस्ताको त्यस्तै भयो । अर्थतन्त्रमा भएको सीमित रकमलाई कुन बैंकले कति लाने भन्ने होडबाजीको दुष्प्रयास हो, अहिलेको ब्याजदर वृद्धि’, उनले भने । 

उनका अनुसार ब्याजदर वृद्धिले उद्योग व्यवसायमा विगत दुई वर्षदेखि परिरहेको कोरोनाको असरमा यसले थप बढावा दिने छ । समग्र अर्थतन्त्र नै समग्र अर्थतन्त्र नै सङ्कुचन हुने खतरा बढेको छ ।  

ब्याजदरको धेरै असर उत्पादनमूलक उद्योग, जलस्रोत र पर्यटन क्षेत्रका लगानीहरूमा प्रत्यक्षरुपमा पर्ने उनको भनाई छ । अध्यक्ष अग्रवालले, ‘पर्यटन क्षेत्रमा भएको लगानीको जोखिम त्यसै बढिरहेको बेलामा ब्याजदर वृद्धिले थप सङ्कटमा पार्ने निश्चित छ । त्यस्तै जलविद्युत क्षेत्रका आयोजनाहरूको लागत ब्याजदर वृद्धिको कारणले थप बढ्छ ।’ 

त्यस्तै, चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल पनि बैंकहरुले बढाएको ब्याजदरको विरोध गर्छन् । उनी भन्छन्, ‘नेपालका बैंकहरुले अन्तर्राष्ट्रिय स्तरमा भएका बैंकिङ प्रणाली अनुसार जान नै सकेनन् । हरेक तीन तीन महिनामा जनताबाट उठाएको निक्षेपमा ब्याज मात्रै बढाएर बैंकहरुले नाफा कमाउने सोच बनाए ।’

नेपालका बैंकहरुले आफै पुँजी निर्माण गर्ने तर्फ कहिले पनि नलागेको उनको आरोप छ । अध्यक्ष मल्लले भने, ‘जनताबाट सय रुपैयाँ उठाउने र ९० रुपैयाँ लगानी गरेर बैंकहरु रमाइरहेका छन् । ब्याज बढाउँदैमा निक्षेप नबढ्ने यसभन्दा अघि बैंकहरुले गरेका गतिविधिले देखाइसकेको छ । बैंकरहरुले पनि विभिन्न सङ्गठन खोलेर आफूलाई मात्र फाइदा हुने रिपोर्ट सार्वजनिक गर्ने  र आम मानिसलाई भ्रम छर्ने काम गरिरहेका छन् । ’

उनका अनुसार बैंकहरुको ब्याज वृद्धिले उद्योगीहरू हतोत्साहित हुने र साना लगानीका व्यवसायी टाट पल्टन सक्ने स्थिति सिर्जना गर्छ । कोरोनाको चपेटामा परेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्‍यो भने बैंकहरुलाई पनि सहज हुन्छ । 

अहिले बेस रेट पनि बैंकहरुले बढाउने त्यसमा प्रिमियम पनि लिने र थप ब्याजदर पनि बढाउने हो भने यसको समग्र असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित रहेको उनको भनाई छ । ब्याजदरको मारले गरेर सम्पूर्ण अर्थतन्त्र नै सङ्कुचन हुनसक्ने उनले बताए ।

‘सरकारले स्थिर ब्याजदरको नीति बनाएर कडाइका साथ लागू गर्ने बेला भइसक्यो । यदि स्थिर ब्याजदरको नीति लागू नगर्ने हो भने दोहोरो अङ्कको आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्यको सपना बिपना हुन सक्दैन’, उनले भने, ‘सरकारले दोहोरो अङ्कको आर्थिक वृद्धिदर गर्ने हो भने बैंकहरुको ब्याजदर एकल अंकका राख्न सक्नुपर्छ ।’ 

बैंकहरुलाई तरलता सहज गराउनका लागि सरकारले पनि पुँजीगत खर्चलाई तीव्रता दिनुपर्ने र विदेशबाट ल्याउन ऋणको लागि ‘हेजिङ फण्ड’ तयार गर्नुपर्ने उनको सुझाव छ । साथै बैंकहरुले पनि विदेशमा रहेका विभिन्न वित्तीय संस्थाहरूबाट लिइने ऋणहरूलाई तीव्रता दिनुपर्ने उनले बताए ।  

त्यसैगरि, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पनि विज्ञप्ति जारी गरेर ब्याजदर वृद्धिबारे आपत्ति जनाएको छ । अत्यन्तै असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर वृद्धि भएकोमा यो क्षेत्र थप धराशायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने एफएनसीसीआईले जनाएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ । यसरी ब्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने हाम्रो बुझाइ छ । विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा हाम्रो बलियो विश्वास छ ।’ 

बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसाय ध्वस्त हुने एफएनसीसीआईका वस्तुगत तर्फका उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठ बताउँछन् । उनी प्रश्न गर्दै भन्छन्, ‘ब्याजदर बढेर बैंकहरुले निक्षेप पाउने हुन ? अहिले बढाइएको ब्याजदरले बैंकहरुमा निक्षेप खोसाखोस हुने मात्र काम गर्छ । अहिले बढाइएको ब्याजदरले बैंकहरुकै नाफालाई मात्र फाइदा हुने हो ।’ 

जनताबाट नै संकलित रकममा ब्याज बढाएर बैंकहरुले मात्रै फाइदा लिने जुक्ति लगाएको बताउँदै उनले भने, ‘समग्र अर्थतन्त्रमा तरलता प्रवाह गर्नलाई न राष्ट्र बैंकले सोच्यो न सरकारले सोच्यो । बैंकहरुले पुँजी निर्माणका लागि कुनै पनि नयाँ कार्यक्रम ल्याउन सकेका छैनन । सधैँ परम्परागत सोचबाट मात्रै बैंकहरु चलिरहेका छन् । यो ब्याजदर वृद्धिले बैंकहरुलाई त फाइदा होला तर अरू कसैलाई पनि फाइदा छैन ।’ सधैँ बैंकहरु परम्परागत बैंकिङ र केही संस्थागत निक्षेपमा मात्रै ध्यान दिन नहुने उनको भनाई छ ।   

उनका अनुसार ब्याजदर वृद्धिले व्यवसायसँगै अर्थतन्त्रलाई पनि फाइदा गर्दैन । जसले गर्दा ब्याजदर वृद्धि तत्काल फिर्ता हुनुपर्छ । हामीले आफू मात्रै सुकिला मुकिला हुनलाई मात्रै काम गरेका होइनौँ । अर्थतन्त्र चलायमान बनाउनु ७० प्रतिशत भन्दा बढी व्यवसायीको योगदान छ । उनले भने, ‘कोरोनाबाट थलिएका व्यवसायी बिस्तारै तङ्ग्रिन खोज्दै थिए । तर, अब ब्याजदर वृद्धिको असरले पुनः व्यवसायी थला पर्ने निश्चित छ । अर्थतन्त्र सङ्कुचन हुन्छ । मूल्यवृद्धिमा चाप पर्छ ।’  

 

प्रतिक्रिया दिनुहोस