aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लगानीकर्ता संरक्षण कोषमा १८ बैंकले जम्मा गरे ३३ करोड बढी रकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
लगानीकर्ता संरक्षण कोषमा १८ बैंकले जम्मा गरे ३३ करोड बढी रकम

काठमाडौं । हाल लगानीकर्ता संरक्षण कोषमा विभिन्न कम्पनीको ४१ करोड ३ लाख ८ हजार ४१३ रुपैयाँ रकम जम्मा भएको छ । लगानीकर्ता संरक्षण कोषमा नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएका कम्पनीका लगानीकर्ताहरुका हितका लागि कम्पनी रजिष्टार कार्यालय, नेपाल धितोपत्र बोर्ड र नेप्से सञ्चालक रहेको कोष हो । यस कोषमा सार्वजनिक रुपमा शेयर निष्कासन भएका विभिन्न कम्पनीहरुमा लगानीकर्ताले दावी नगरेको रकमलाई संकलन गरेर लगानीकर्ता संरक्षण कोष बनाइएको हो ।  कम्पनी रजिष्टारको तथ्याङक अनुसार उक्त कोषमा हालसम्म विभिन्न ४५ वटा कम्पनीका लगानीकर्ताहरुको रकम संकलन भएको छ ।  

आर्थिक वर्ष वर्ष २०७६/७७ सम्म यो कोषमा २७ करोड ७९ लाख २६ हजार ९९५ रुपैयाँ रहेको थियो । आव वर्ष २०७७/७८ मा १३ करोड ७४ लाख ९३ हजार ३६४ रुपैयाँ कोषमा थपिए छ । जसमध्ये केही कम्पनीहरुले २४ लाख ११ हजार ९४६ रुपैयाँ रकम फिर्ता लगिसकेसँगै बाँकी रकम कोषमा रहेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ  । 

कुन बैंकले कति जम्मा गरे ?
आर्थिक वर्ष वर्ष २०७६/७७सम्ममा नेप्सेमा सुचीकृत १८ वटा बैंकहरुले ३३ करोड सात लाख १६ हजार रुपैयाँ बराबरको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेका थिए । जसमा सिटिजन्स इन्टरनेशनल बैंकले यस अवधिमा लगानीकर्ता संरक्षण कोषमा २ करोड ५० लाख ९७ हजार ७०३ रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकले १ करोड ७ लाख ३९ हजार ७३१ रुपैयाँ जम्मा गरेको थियो । जसमा दुई लाख ८६ हजार ४३६ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरेको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ । हाल लगानी संरक्षण कोषमा नेपाल एसबिआई बैंकको १ करोड ४ लाख ५३ हजार २९४ रुपैयाँ  रहेको छ । 

त्यस्तै, कुमारी बैंकले यस अवधिमा लगानीकर्ता संरक्षण कोषमा ६० लाख ५४ हजार ७५४ रुपैयाँ जम्मा गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख ५८ हजार ४३७ रुपैयाँ, एनसीसी बैंकले एक करोड ३३ लाख ४७ हजार ७०१ रुपैयाँ, जनता बैंक (ग्लोबल आइएमइ बैंकसँग मर्ज भइसकेको ) ले एक करोड १९ लाख २८ हजार ८२१ रुपैयाँ, सिद्धार्थ बैंकले १ करोड २० लाख ३० हजार ३८ रुपैयाँ रकम जम्मा गरेको छ । 

त्यसैगरी एभरेष्ट बैंकले एक करोड १९ लाख ६० हजार ४५३ रुपैयाँ जम्मा गरेकोे थियो । जसमध्ये ४ लाख ३६ हजार ४७३ रुपैयाँ लगानी कर्तालाई फिर्ता गरेको छ भने बाँकी रहेको  १ करोड १५ लाख २३ हजार ९८० रुपैयाँ लगानीकर्ता संरक्षण कोषमा रहेको तथ्याङमा उल्लेख छ । 

लक्ष्मी बैंकले ५७ लाख चार हजार ९९५ रुपैयाँ जम्मा गरेकोमा ५० हजार ९१६ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरेको छ । त्यस्तै, हाल उक्त बैंकले ५६ लाख ५४ हजार रुपैयाँ रकम कोषमा रहेको तथ्याङकले जनाएको छ । 

कम्पनीको तथ्याङक अनुसार एनआएसी एशिया बैंक लिमिटेडले कोषमा जम्मा गरेकोे ४ करोड ५८ लाख ६३ हजार ५८४ रुपैयाँ रकममध्ये चार लाख ३५ हजार २७३ रुपैयाँ रकम लगानी कर्तालाई फिर्ता गरेको छ । फिर्ता गरेर बाँकी रहेको बैंकको चार करोड ५४ लाख २८ हजार ३११ रुपैयाँ रकम कोषमा रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा स्टान्डर्ड चार्टड बैंक लिमिटेडले १ करोड ५९ लाख ८० हजार १६१ रुपैयाँ रकम जम्मा गरेकोे थियो । जसमध्ये ९ लाख ९१ हजार ३९६ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरेको छ । हाल कोषमा उक्त बैंकको एक करोड ४९ लाख ८८ हजार ७६४ रुपैयाँ रहेको छ । 

यसैगरी कृषि विकास बैंकले ६३ करोड ७६ लाख ४ हजार सात सय रुपैयाँ, एनएमबी बैंक लिमिटेडले ३ करोड ८१ लाख १२ हजार ३२७ रुपैयाँ, कामना सेवा विकास बैंकले ९२ लाख २१ हजार ७२० रुपैयाँ र नबिल बैंकले १ करोड ६८ लाख ४६ हजार ६९४ रुपैयाँ जम्मा गरेका छन् । 

सानिमा बैंकले ३० लाख २३ हजार ७६१ रुपैयाँ, प्रभु बैंक लिमिटेडले २ करोड २१ लाख १९ हजार ३५७ रुपैयाँ जम्मा गरेको मध्ये दुई लाख १० हजार २४८ रुपैयाँ रकम लगानी कर्तालाई फिर्ता गरेको छ । हाल कोषमा प्रभु बैंकको २१ करोड ९० लाख ९ हजार १०९ रुपैयाँ र बैंक अफ काठमाण्डूले एक करोड ३४ लाख ८२ हजार ८२५ रुपैयाँ जम्मा गरेको कम्पनी रजिष्टार कार्यालयको तथ्याङकमा उल्लेख छ । 

लघुवित्त कम्पनीले कति जम्मा गरे ?
आर्थिक वर्ष वर्ष २०७७/७८ मा माइक्रोफाइनान्स कम्पनीले लगानीकर्ता संरक्षण कोषमा ४१ लाख ६८ हजार रुपैयाँ बराबरको रकम जम्मा गरेका छन् । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले तीन लाख १८ हजार ४१५ रुपैयाँ, छिमेकी लघुवित्त वित्तीय संस्थाले चार लाख २० हजार ११० रुपैयाँ, पोखरा फाइनान्स कम्पनीले छ लाख ९२ हजार ९१७ रुपैयाँ, मितेरी लघुवित्त वित्तीय संस्थाले छ लाख १२ हजार १५७ रुपैयाँ रकम जम्मा गरेको हो । 

त्यसैगरी, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६१ हजार १५७ रुपैयाँ, नेपाल फाइनान्सले एक लाख ९५ हजार ८१० रुपैयाँ, गोर्खा फाइनान्सले ६ लाख छ हजार ९२१ रुपैयाँ, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ९६ हजार ७७० रुपैयाँ, साना किसान लघुवित्त वित्तीय संस्थाले ११ लाख ६३ हजार ९२० रुपैयाँ रकम जम्मा गरेकोे तथ्याङकमा उल्लेख छ । 

काेषमा नौ इन्स्योरेन्स कम्पनीकाे एक करोड  
आर्थिक वर्ष २०७७/७८ सम्ममा नौ वटा इन्स्योरेन्स कम्पनीहरुले एक करोड तीन लाख ४७ हजार रुपैयाँ बराबरको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेका छन् ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आठ लाख ७६ हजार ११५ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले तीन लाख ३१ हजार २०५ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पाँच लाख एक हजार ७३० रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले छ लाख १८ हजार ७१८ रुपैयाँ जम्मा गरेको छ । 

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ३१ लाख ५६ हजार ७०७ रुपैयाँ जम्मा गरेकोमा एक हजार २०१ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरेको छ । हाल लगानी संरक्षण कोषमा सगरमाथा इन्स्योरेन्सको ३१ लाख ६५ हजार ५०५ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४३ लाख ८ हजार ५३४ रुपैयाँ रकम जम्मा गरेको तथ्याङकमा उल्लेख छ । 

कम्पनी रजिष्टारको अनुसार शिखर इन्स्योरेन्स कम्पनीले असारमसान्त सम्ममा सात लाख २९ हजार ६५१ रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सात लाख १९ हजार २९७ रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले २ लाख ९ हजार ८५७ रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख तीन हजार २८३ रुपैयाँ जम्मा गरेको तथ्याङकमा देखिएको छ ।  

अन्य कम्पनीहरुले कति जम्मा गरे ?
आर्थिक वर्ष २०७७/७८ सम्ममा क्यापिटल लिमिटेड र अन्य उत्पादित कम्पनीहरुले पाँच करोड ९४ लाख ८९ हजार रुपैयाँ लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेका छन् । कम्पनी रजिष्टारको तथ्याङक अनुसार लगानीकर्ता संरक्षण कोषमा गत आर्थिक वर्षको असार मसान्तसम्म बोटर्स नेपाल लिमिटेडले ६ लाख ७६ हजार ७६५ रुपैयाँ, सनराइज क्यापिटलले एक लाख ७ हजार रुपैयाँ, युनिलिभर नेपाल कम्पनीले १ करोड १६ लाख २७ हजार ३०५ रुपैयाँ रकम जम्मा गरेका छन् । 

त्यस्तै, यस अवधिमा नाम नामेसी नखुलेको कम्पनीले लगानीकर्ता संरक्षण कोषमा ३० लाख १६ हजार रुपैयाँ, बोटलर्स नेपाल तराई लिमिटेडले २६ लाख ६४ हजार ६३९ रुपैयाँ, चिलिमे जलविद्युत कम्पनीले ३ करोड ८५ लाख १२४ हजार १५७ रुपैयाँ र नबिल इन्भेष्मेन्टले १६ लाख ३३ हजार ४३० रुपैयाँ रकम जम्मा गरेको तथ्याङमा उल्लेख छ । 

त्यस्तै उक्त संरक्षण कोषमा नेप्सेमा सूसिकृत अन्य कम्पनीहरुको पनि यस कोषमा रकम जम्मा हुने क्रम बढिरहेको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा समेत केहि कम्पनीहरुले कोषमा रकम जम्मा गरेको कार्यालयले आर्थिकन्युज डटकमलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस