काठमाडौं । लघुवित्त संस्थाहरुको लगानी घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुको लगानीका बारेमा अध्ययन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । चालू आवको ६ महिनामा लघुवित्त संस्थाहरुको आम्दानीमा ३२.६१ प्रतिशतले घटेको छ । गत वर्षको सोहि अवधिको तुलनामा लघुवित्त संस्थाहरुको आम्दानी कूल लगानी ९ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा कूल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानीमा ह्रास आएको राष्ट्र बैंक लघुवित्त सुपरीक्षण विभागले जनाएको छ ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले निक्षेप संकलन र सापटी रकम बढाएका छन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले निक्षेप तथा बचत संकलन १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ र सापटी १ खर्ब ८९ अर्ब ८४ करोड रुपैयाँ गरी जम्मा ३ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ वित्तीय स्रोत संकलन गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
लघुवित्तहरुले मुद्दती निक्षेपमा पुस मसान्तसम्म ८ अर्ब २७ करोड राखेका छन्, जुन असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ६२।२१ प्रतिशतले बढेको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फको कर्जामा भने ४५.४७ प्रतिशतले बढाएको छ । जसमा ४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तमा कृषि क्षेत्रमा ४४.८२ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ६३ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस