aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चैत्र ९ गतेदेखि ‘कृषि कर्जा मेला’ हुँदै, मुख्य प्रायोजकमा नबिल र कृषि विकास बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० फागुन २०७८
चैत्र ९ गतेदेखि ‘कृषि कर्जा मेला’ हुँदै, मुख्य प्रायोजकमा नबिल र कृषि विकास बैंक

काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।   

मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ ।  

त्यस्तै, सोहि अवसरमा ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए ।  

कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए । ‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधान होस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो’ कटुवालले भने । 

कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुस्मा शर्माले बताइन् । 

मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने छ । साथै कृषक, बैंक, सेवाप्रदायक र नीति निर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास लिईएको छ । 
 

प्रतिक्रिया दिनुहोस