काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने योजना रहेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारको योजना कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने हो । बाँझो जग्गा छोडेर भएन । यसलाई कसरी परिचालन गर्ने भनेर पनि योजना बन्दै छ ।’
त्यस्तै, उनले नीतिगत कुरा सुधार गर्न सरकार तयार रहेको समेत बताए । अर्थमन्त्री शर्माले भने, ‘नीतिगत कुरा सुधार गर्न के के आवश्यक छ त्यो बुँदा टिपेर दिनुहोस् । त्यसलाई सुधार गर्न सरकार तयार रहेको छ ।’ साथै उनले नीति नियम निजी क्षेत्रमैत्री बनाउन सरकार सकारात्मक रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगलाई सरकारले जग्गा उपलब्ध गराउन तयार रहेका कारण योजना सहित आउन निजी क्षेत्रलाई आग्रह समेत गरे । त्यस्तै उनले नेपालका कुन कुन वस्तुमा भन्सार बढी भएर उत्पादन गर्नै नसक्ने अवस्थामा पुगेका छन् त्यसबारे पनि सरकारले पुनरावलोकन गर्ने बताए ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनी निजी क्षेत्रका सुझाव बजेटमा समेटेर अगाडी बढ्ने बताए । उनले भने, ‘हामी आर्थिक क्षेत्र सुधारमा लाग्ने छौँ । अर्थतन्त्रमा ७० प्रतिशत निजी क्षेत्रको योगदान छ । आर्थिक क्षेत्रका विकासका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य पर्छ । त्यसैले बजेटमा निजी क्षेत्रको सुझाव समेटेर अगाडी बढ्छौँ ।’ त्यस्तै, उनले राजस्व सङ्कलनले मात्र चालू खर्च धान्न नसक्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया दिनुहोस