aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ऊर्जामन्त्री र बेलायत राजदूतबीच भेटः जलासययुक्त आयोजना निर्माणका लागि लगानी गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ बैशाख २०७९
ऊर्जामन्त्री र बेलायत राजदूतबीच भेटः जलासययुक्त आयोजना निर्माणका लागि लगानी गर्न आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताईन् । उनले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरिन् ।  

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।”

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताईन् । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नु भएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताईन् । 

प्रतिक्रिया दिनुहोस