aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मतदानका लागि उपत्यकाबाट गाउँ फर्किनेहरु बढे, मतदाता ओसार्न दलका आफ्नै ‘रिजर्भ गाडी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
मतदानका लागि उपत्यकाबाट गाउँ फर्किनेहरु बढे, मतदाता ओसार्न दलका आफ्नै ‘रिजर्भ गाडी’
फाइल फोटो

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन अब तीन दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको दिन नजिकिदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरु पनि बढ्न थालेका छन् ।   

स्थानिय तहको निर्वाचनको मतदान गर्नका लागि दुई–तीन दिन यतादेखि उपत्यका छाड्नेहरुको संख्या बढिरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार काठमाडौंको नागढुंगा, मुड्खु र भक्तपुरको जगाते लगायतका नाकाहरुबाट यात्रुहरु बाहिरिने गरेका छन् । यस नाकाबाट अहिले दैनिक सरदर ८ हजारले काठमाडौं उपत्यका छाडिरहेका छन् ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजिव शर्मा दासले अहिले काठमाडौं उपत्यका भित्रिने भन्दा बाहिरिनेको संख्या धेरै रहेको जानकारी दिए । उनले भने, ‘विगत केहि दिन यतादेखि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढ्दो छ । स्थानीय तहको निर्वाचनमा मतदान गर्न उपत्यकाबाट गाउँ गएका हुनसक्छन् । अहिले उपत्यका भित्रिने यात्रु भन्दा बाहिरिनेको संख्या पनि धेरै रहेको छ ।’  

काठमाडौं उपत्यकाबाट गाउँ फर्किने मतदाताहरुका लागि कतिपय राजनितिक दलहरुले गाडी रिजर्भ गरेर लगिरहेका छन् । यतिबेला काठमाडौं उपत्यकाबाट जिल्लाहरुमा मतदाता ओसार्न विभिन्न राजनीतिक दलले साना माइक्रोदेखि रात्रिकालीन गाडीसम्मको व्यवस्था गरिदिएका छन् ।   

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना मतदाता लैजान सबैजसो राजनितिक दलहरुले सबै पार्टीका जिल्ला सम्पर्क समितिलाई सक्रिय बनाएको छ । ती समितिले आ–आफ्ना पार्टीका मतदाता खोजी गरेर रिजर्भ गाडीमा जिल्ला पुर्याउने काम तिव्र पारिरहेका छन् । 

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले स्थानिय तहको निर्वाचनका लागि सबैजसो राजनितिक दलले आफै गाडी रिजर्भ गरेर यात्रुहरु ओसारपसार गरिरहेको बताए । उनले भने, ‘स्थानीय तहको चुनावका लागि विभिन्न राजनीतिक दलले मतदाता ओसार्न गाडी रिजर्भ गरेका छन् । रिजर्भ गरिएका गाडीमा छोटोदेखि लामो दूरी सबैखाले साधन छन् । दिन र राती दुबै समयमा यात्रुहरुको चाप धेरै रहेको छ ।’ 

त्यस्तै, उनले साना माइक्रोदेखि रात्रिकालीन गाडीसम्म दलहरुले मतदाता ओसार्न प्रयोग गरेका छन् । साथै उनले आफै टिकट काटेर पनि मतदाताहरुले मतदान गर्न उपत्यकाबाट गाउँ फर्किएको बताए । हिजो, आज र भोलीसम्म अर्थात तीन दिनमा उपत्यकाबाट ११ लाख भन्दा बढी यात्रुहरु बाहिरिने महासंघको आँकलन रहेको महासचिव सिटौलाले जानकारी दिए ।    

‘विगत चार दिन यतादेखि उपत्यका छाड्ने मानिसहरुको चाप धेरै नै छ । यो चाप २९ गतेसम्म हुनसक्छ । कोहि राजनितिक दलको रिजर्भ गाडीमा गएका छन् त कोहि आफै टिकट काटेर घर फर्किरहेका छन्’ उनले भने । 
 

प्रतिक्रिया दिनुहोस