भक्तपुर । सूर्यविनायक नगरपालिका–५ की १९ वर्षीया कञ्चन शर्मा मतदाता परिचयपत्र हात परेपछि दङ्ग परिन् । जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि उनी औधी रमाएकी हुन् ।
परिचयपत्र लिएपछि उनीले संँगैरहेकी साथीलाई भनिन्, “ओई, हेरन मेरो त फोटो अलि बिग्रएछ ।” साथमा रहेकी १९ वर्षीया कल्पना घिमिरेले पनि आफ्नो मतदाता परिचयपत्र हेर्दै भनिन्, “अ, हेर न, मेरो पनि फोटो कुचुक्क आएछ ।”मतदाता परिचयपत्र लिएपछि उनीले रमाउँदै भनिन, “जीवनमै पहिलो पटक भोलि भोट हाल्ने हो, मतदानको अनुभव पनि लिन पाइने भो ।” उनीले भनिन, “धेरै पटक भोट हाल्नेले पार्टी रोजे होलान्, हामीलाई त पार्टीको मतलव छैन, हाम्रो त पहिलो भोट, आफ्नो गाउँ बनाउन सक्ने, विकास गर्न सक्ने, युवाका पक्षमा कार्यक्रम ल्याउनेलाई दिने हो ।”
निर्वाचन आयोगले यही वैशाख २८ र २९ गते नयाँ मतदाता, बसाइँसराइ गरेर आएका, मतदाता परिचयपत्र हराएर आवेदन दिएकालाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरी मतदाता शिक्षा दिइरहेका जनाएको छ । ,भक्तपुर नगरपालिका ब्यासीका २० वर्षीय सुरेश पक्का नेवारले मतदाता परिचयपत्र लिँदै भोलिको प्रतिक्षामा रहेको बताए । ब्यासी मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिनुभएका उनले भने, “भोलि मतदान गर्ने प्रतिक्षामा छु, बिहानै भोट हाल्छु र आफ्नो मताधिकार बिहानै प्रयोग गरी नगरपालिकामा राम्रो काम गर्नेलाई भोट दिन्छु ।”
यस्तै भक्तपुर नगरपालिकाकी रञ्जु खर्बुजाको भनाइ पनि उस्तै छ । पहिलो पटक मतदान गर्ने उत्सुकतामा रहेकी उनले भनिन्, “पहिलो पटक मतदान गर्दैछु, मेरो मत खेर नजाओस् भन्ने चाहना राखेको छु, मेरो मतले एउटा उम्मेदवार जिताउनु मात्रै होइन, मेरो गाउँ, मेरो टोल बनाउने कि नबनाउने भन्ने फैसला गर्नु पनि हो ।”
चाँगुनारायण नगरपालिका– ४ छालिङका १९ वर्षीय सन्तोष गैँडा भौतिक संरचनालाई मात्रै विकास भन्ने परम्पराको विरोध गर्छन् । मतदाता परिचयपत्र लिएपछि प्रतिक्र्रिया दिँदै उनले भने, “हामी बाटो बनेन, ढल भएन, पानी आएन मात्रै भन्छौँ, कृषिका लागि सिँचाइ भएन, युवालाई रोजगारमूलक शिक्षा भएन, महिलालाई आत्मनिर्भर बनाउने सीप भएन, अपाङ्गलाई सहज जीवन जिउने व्यवस्था भएन भन्दैनौँ ।”
मध्यपुरथिमि नगरपालिका कमेरोटारमा रोहन मानन्धरको भनाइ पनि उस्तै छ । मतदाता परिचयपत्र हातमा लिँदै उनले सम्पदाको सहर र पुरानो नेवार बस्ती भए पनि उपत्यकाकै पछाडि पारिएको मध्यपुरको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सक्ने उम्मेदवारलाई आफ्नो मत दिने बताउँछन् । रासस
प्रतिक्रिया दिनुहोस