काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।
काठमाडौंमा शान्तिपूर्ण मतदान
स्थानीय तहका लागि आज बिहानदेखि सुरु भएको मतदान काठमाडौँमा शान्तिपूर्णरुपमा अगाडि बढिरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आज बिहान ८ बजे मतदान गरिसक्नुभएको छ । अन्य मतदाता पनि मतदान गर्नका लागि लामबद्ध भएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका केशव स्थापितले वडा नं २८को बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरे । उक्त मतदान केन्द्रमा पनि शान्तिपूर्णरुपमा मतदान जारी छ ।
यी दुई केन्द्रका साथै अन्य मतदान केन्द्रमा पनि मतदाताले लामबद्ध भएर जनप्रतिनिधि छान्ने तयारीमा रहेका छन् । यसअघि नै मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन आज पानी पर्ने पूर्वसङ्केत गरेकाले मतदाताले हातमा छाता बोकेर मतदान केन्द्रमा पुगेको देखिन्छ ।
आज पहिलो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुन लागेको छ । सरकारले गत माघ २४ गते आजका लागि निर्वाचन निर्वाचनको तयारी गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएकामा यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्णरुपमा सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस