चितवन । चर्चामा रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह, चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका, पर्साको वीरगञ्ज महानगरपालिका,बुटवल उपमहानगरपालिका र मोरङको विराटनगर महानगरपालिका मत गणना हुने भएको हो । शनिबार बिहान ७ बजेदेखि मतगणना सुरु गरिँदैछ।
बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणनाअनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन् ।
त्यस्तै, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।
मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस