काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । धेरै स्थानहरुमा धमाधम मतगणना भइरहेको छ । केहि ठूला शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले अन्य दलका उम्मेदवारहरुलाई पछि पार्दै अग्रता कायम गरिरहेका छन् । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका हुन् ।
काठमाडौं महानगरपालिकाको कुरा गर्ने हो भने स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले फराकिलो अन्तरले अग्रता कायम गरिहेका छन् । काठमाडौंको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले २४५७ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । त्यस्तै, शाहसंगै प्रतिस्पर्धामा रहेका नेकपा एमालेका केशव स्थापितले १४२७ र नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ११५८ मत ल्याएकी छन् ।
त्यस्तै, धनगढी उपमहानगरपालिकामा पनि मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले पनि राजनितिक दलका आधिकारिक उम्मेदवारहरुलाई फराकिलो मतान्तरले अगाडी बढिरहेका छन् । पछिल्लो परिणाम अनुसार गोपाल हमालले १४२८ मत ल्याएर फराकिलो अग्रता बनाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नृपबहादुर वडले ८३९ र नेकपा एमालेका रणबहादुर चन्दले १४१ मत पाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्रबाट मेयर पदमा उठेका मनोजकुमार साह सुडीले १२६३४ मत ल्याउँदा उनको पछिपछि एमालेका उम्मेदवारले ६३८ मत ल्याएका छन् भने लोसपाले १६४ मत ल्याएका छन् । धुलिखेल नगरपालिकामा पनि स्वतन्त्रबाट विदुरबहादुर बस्नेतले पनि राम्रै मत ल्याइरहेका छन् । यस अवधिसम्म एमालेबाट मेयर पदमा उठेका अशोककुमार ब्याञ्जुले १९७४ मत ल्याउँदा बस्नेतले १५७६ मत ल्याएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रलादकुमार क्षेत्रीले अग्रता लिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका क्षेत्रीले ७५७ मत ल्याउँदा कांग्रेसको उम्मेदवार चिरञ्जिवी हमालले भने १० मत मात्रै पाएका छन् । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले ७४६ मत सहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस