aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दक्षिणकाली नगरपालिकाको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
दक्षिणकाली नगरपालिकाको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।   

उनले सात हजार २०१ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएका छन् । उनको पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका थिए । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएका छन् ।  

नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०।८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।    

प्रतिक्रिया दिनुहोस