aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आगामी बजेटमा दोधारा चादँनी र दैजी औद्योगिक क्षेत्रलाई समेटिन्छः मन्त्री बडू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
आगामी बजेटमा दोधारा चादँनी र दैजी औद्योगिक क्षेत्रलाई समेटिन्छः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताए ।   

“लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ”, उनले भने, “आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।” दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमनसमेत गरे ।   

मन्त्री बडूले सुख्खाबन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए । “यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसित जोडिएको योजना पनि हो”, मन्त्री बडूले भने, “यो योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।”

त्यसैगरी दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनले बताए । “औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुङ्गोमा पुग्नेछ ”, उनले भने, “औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ”, कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु सात अर्ब लाग्ने अनुमान गरिएको बताए ।   

प्रतिक्रिया दिनुहोस