काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट कमजोरी नै कमजोरीले भरिने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा उनले यस्तो बताएका हन् ।
अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले भने, ‘विनियोजन विधेयकमा डरलाग्दोरूपमा बढिरहेको व्यापारघाटा नियन्त्रण गर्न कुनै पनि योजना छैन । घटिरहेको वैदेशिक मुद्राको सञ्चिती जोगाउने ठोस योजना छैन । आगामी वर्षको बजेट कमजोरी नै कमजोरीले भरिनेछ ।’
अहिले मूल्यवृद्धि अत्याधिक ढंगले बढिरहेकाले भोलीका दिनमा असफल राष्ट्र बन्ने उनको भनाई छ । साथै उनले सरकारको इच्छाशक्ति र क्षमता नहुँदा पूँजीगत खर्च बढ्न नसकेको बताए ।
त्यस्तै, नेता भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जादैँ गरेको समेत बताए । उनले भने, ‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौँ । आयात गरिरहेका छौँ । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौँ । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ ।’
हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको समेत उनको भनाई छ । नेता भट्टराईले भने, ‘सरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि ? दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ ।’
प्रतिक्रिया दिनुहोस