aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

‘उत्पादनमुखी बजेट ल्याउँछौ भन्नु नयाँ कुरो होइन, फरक ढंगले आउनुपर्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
‘उत्पादनमुखी बजेट ल्याउँछौ भन्नु नयाँ कुरो होइन, फरक ढंगले आउनुपर्यो’

काठमाडौं । केही दिनदेखि संघीय संसदमा प्रि बजेटबारे छलफल भइरहेको छ । राजनीतिक दलका नेताहरुले आगामी बजेट कस्तो ल्याउने भन्नेबारे सुझाव दिइरहेका छन् । यता अर्थमन्त्रालय सोही सुझावलाई ध्यानमा राख्दै आगामी बजेट ल्याउन जुटिरहेको छ । 

यसअघि ल्याइएका हरेक आर्थिक वर्षको बजेट सुरुवाती महिनाहरुमा पुँजीगत खर्च नै भइरहेका छैनन । बजेट ल्याएर खर्च नगरी बस्ने र पछि चालु आव सकिने बेलामा बजेट एकैचोटी खर्च गर्ने गरेको पाईएको छ । यसअघिका वर्षहरुमा सुरुवातमा बजेट ठूलो ल्याउने पछि खर्च गर्न नसकेर समिक्षा अवधिमा  आकार घटाउँदै आइएको छ ।

यसरी बजेट ल्याउनु भन्दा सुधार गरेर अर्थमन्त्रीहरुले बजेट ल्याउन जोड दिनुपर्ने अर्थविद् डा.डिल्लीराज खनाल बताउँछन् । उनी भन्छन्, ‘अर्थमन्त्रालयले ल्याउने बजेटमा सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । जहिले पनि पुरानै शैलीमा बजेट ल्याइदै आएको छ । यसले गर्दा पनि बजेट ल्याउने र खर्च गर्ने प्रवृतिको बारेमा म त्यति धेरै अपेक्षा गर्दिन ।’ 

उनका अनुसार आधारभुत रुपमा सिद्धान्त र प्राथमिकताका आधारमा आगामी बजेट नआउला । तर, कोभिड र पछिल्ला गतिविधिहरुले अर्थतन्त्र समस्यामा छ । त्यसलाई संम्बोधन गर्ने कुराहरुलाई ध्यानमा राख्नुपर्छ । बजेटको कार्यान्वयनमा पनि सुधार गनुपर्छ । अर्थतन्त्रमा आएको संकट र कोभिडले पारेको असरलाई न्युनिकरण गर्ने गरी सुधार गर्न बजेट केन्द्रीत हुनुपर्छ । 

अहिले आयात बढीरहेको छ । निर्यात गर्ने वस्तुहरुमा पनि कच्चा पदार्थहरु बाहिरबाट ल्याएर मार्जिन खाएर त्यसको लाभ लिने प्रवृत्ति पनि बढेको छ । यसले गर्दा उत्पादनमुखी पुर्वाधारलाई विकास गरी प्रतिस्पर्धामा लैजानु पर्ने खनालको भनाइ छ । ‘आयात प्रतिस्थापनका लागि पनि उत्पादनमा जोड दिनुपर्छ । अहिले विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ । रेमिट्यान्सलाई बढाउने र खर्च बढि गरेर विदेशी सहायता बढाउने कुरालाई पनि ध्यान दिनुपर्छ’, उनले भने ।

अहिले घटिरहेको विदेशी मुद्रा सञ्चिति सुधार गर्ने हो भने पर्यटन क्षेत्रलाई विशेष रुपले हेर्नुपर्ने अर्थविद् डा.खनाल जनाउँछन् । ‘विदेशी मुद्रा सञ्चितिमा आएको प्रेसरलाई कम गर्ने पर्यटन क्षेत्र हो । तसर्थ पर्यटन क्षेत्रको विकास र विस्तारमा पनि ध्यान दिनुपर्छ’, उनले भने, ‘कोरोनाको कारणले जनसंख्याको ठुलो हिस्सा जोखिममा छ  । बेरोजगारी र अहिलेको मुल्य वृद्धिलाई ठोस ढंगले समायोजन गर्ने हिसाबले लागि पर्नुपर्छ । त्यसैले यर्थाथपरक र बजेट प्रति बढ्दै गएको अविश्वासलाई विश्वसनीय बनाउने र कार्यान्वयन भित्रका लेखा र जिम्मेवार प्रणालीलाई केन्द्रीत गर्नुपर्ने देखिन्छ ।’

अर्थविद् डा खनालका अनुसार अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रका केन्द्रीत गरेर बजेट ल्याउछौ भनेको कुरा नयाँ होइन । यसअघिका बजेटहरुमा पनि यही कुरा भनिएको थियो । विगतमा किन भएन, कुन हिसाबले उत्पादन बढाउन सकिन्छ भन्ने रणनीति ल्याउनु पर्यो । अहिले परनिर्भर हुन्छौ भनेका वस्तुहरुको नै आयात बढिरहेको  छ ।

उत्पादनमुखी बजेट ल्याउनका लागि खर्चमुखी बजेटलाई परिणामसँग जोड्नुपर्ने उनको भनाइ छ । ‘अनुदान र कृषि उत्पादनका कार्यहरु सफल भएका छैनन् । आधारभुत रुपमा नै संस्थागत परिपाटीलाई परिवर्तन गर्नुपर्छ’, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस