काठमाडौं । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौंमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । अर्थविज्ञ डा. स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थ¬राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थविज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिएका छन् ।
पुस्तकका लेखक अर्थविज्ञ डा. स्वर्णिम वाग्लेले विगतमा नेकपाको सरकारसँग धेरे अवसर हुँदाहुँदै काम गर्न नसकेको टिप्पणी गर्दै कुर्सीमा जाने मात्रै होइन विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनीतिक पार्टीले काम गर्नुपर्नेमा जोड दिए । “नेकपाको सरकारले त्यसबेला सुरुको वर्ष स्थिरताका सवालमा केही राम्रा कुरा गरेको हो । अर्को वर्ष असाधारण अवसरमा उपलब्धि औषत भयो, मैले मेरो किताबमा उल्लेख गरेको छु, तेस्रो वर्ष अस्थिरताले काम भएन, सबै क्षेत्रमा धावा बोल्ने काम मात्रै भयो”, उनले भने ।
दलहरुमा के गर्ने भनेर पूर्वतयारी नै हुन्न । यसका लागि फराकिलो टिम चाहिन्छ, त्यो हुन सकेन यस्ता कमजोरीबाट अब सिक्नुपर्छ, आउँदो सरकार जोगिनुपर्छ, उनले सुझावात्मक टिप्पणी गरे । उनले कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले शक्ति पृथकीकरणमा राजनीति हावी हुँदै गएको महसुस भएको बताउँदै नागरिक समाजबाट संरचनामा पुनःमूल्याङ्कन गर्न जरुरी रहेको बताए । उनले राजनीति सङ्लो नभई मुलुक विकासतर्फ अघि नबढ्ने जिकिर पनि गरे । वाग्लेले पूर्वाधारमा मात्रै बजेट खन्याउँदैमा अपेक्षित प्रतिफल नआउने दावी गरे ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठीक भए पनि ‘प्रणाली’ नरहेको बताईन् । मुलुकलाई दीगो विकासतर्फ लैजाने हो भने नागरिकलाई अगाडि राखेर हेर्नुपर्नेमा उनको जोड थियो । पाँच वर्षको काम सोचेर योजना बनाउँदैमा विकास नहुने तर्क गर्दै उनले भनिन्, “बढ्नुपर्छ, पाँच वर्षको योजनाले मुलुकमा दीगो विकास हुन्न, कम्तीमा २५ वर्षको योजना निर्माण गर्नुपर्छ, त्यो गरेन भने पुस्तकको शीर्षक जस्तै विकासमा जहिले पनि अतृप्त अवसर रहिरहन्छ ।”
समाजशास्त्री झाले थपिन्, “सरकार जस्तो सुकै आओस् चलिरहेको कुरामा कहाँ अतृप्त अवसर छन् त्यसमा उसले थप्नसक्छ, तर योजना २५ वर्षको बनाएर कार्यान्वयन गर्नुपर्छ ।” उनले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिनसके आर्थिक विकास र मानव संशाधन विकासमा सघाउ पुग्नेमा उनको भनाइ थियो । उनले नीति निर्माणका हिसाबले नेपाल धनी रहेको तर त्यो कागजमै सीमित रहेको जिकिर गरिन् ।
प्रतिक्रिया दिनुहोस