बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । यसका लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताए । सरकारले भैँसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अहिले सडक विस्तारको काम भइरहेको छ । उनले प्रदेशमा किताबखाना स्थापना गरिएको बताए ।
त्यस्तै पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । उनले देशभर उच्च मूल्यवृद्धि भएकामा चिन्ता व्यक्त गरे । जनताको दैनिकीमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले सङ्घीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस