काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले २४ औँ फ्लोर एक्स्पो आयोजना गर्ने भएको छ । सोमबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङका अनुसार पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि यस्तो मेला आयोजना गर्न लागिएको हो । उक्त एक्स्पो यही चैत्र १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ ।
प्रतियोगितात्मक प्रदर्शन स्टल तीन वटा र दुई वटा फूड स्टलसहित जम्मा ८० वटा स्टल रहने छन् । मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारी बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने भएका छन् ।
यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता पुष्प व्यवसायीहरूको समेत सहभागिता रहने छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको छ ।
साथै, सदाझैँ लामो समयदेखि निरन्तररुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुर्याएको पुष्प नर्सरीको छनौट गरि उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ । यस प्रदर्शनीमा पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरूको लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार विस्तार गर्न, सूचना तथा नयाँ नयाँ प्रजातिको विकास र गुणस्तर उत्पादनका क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्प सम्बन्धी नयाँ नयाँ विकास भएका उत्पादनहरूलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरूसँग आपसी सम्बन्ध स्थापना गर्न अभूतपूर्व अवसर हुने समेत आयोजकले जनाएको छ ।
गत वर्षमा कोभिड महामारी हुदाँहुदै पनि आयोजना गरिएको २३ औँ फ्लोरा एक्स्पोमा उल्लेख्य मात्रमा अवलोकन कर्ताहरूको उपस्थिति रहेको थियो । यस वर्ष आयोजना हुने २४ औँ फ्लोरा एक्स्पो अवधि भित्र ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा संस्थाले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस