aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एघार दिन हिँडेर आएका मिटरब्याज पीडितहरुले पाएनन् धर्ना बस्ने ठाँउ (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • सोमबार, १३ चैत्र २०७९
एघार दिन हिँडेर आएका मिटरब्याज पीडितहरुले पाएनन् धर्ना बस्ने ठाँउ (फोटोफिचर)

काठमाडौं । मिटरब्याजी सुदखोरहरुको धम्की र मानसिक दबाव सहन नसकेर ११ दिनको प्रदल यात्रा गर्दै काठमाडौं आइपुगेका पीडितहरु झन् ठूलो समस्यामा परेका छन् । राज्यलाई आफ्नो कुरा सुनाउन आएका मध्ये मधेशका ९५ पीडितले सरकारलाई आफ्नो कुरा सुनाउन उभिने ठाँउ समेत राजधानीमा पाएनन् । 

आइतबार उपत्यका छिरेका उनीहरु सरकारको ध्यानाकर्षण गर्न खुल्ला मञ्चमा आए । तर, काठमाडौं महानगरपालिकाले उनीहरुलाई टुँडिखेल प्रवेशमा रोक लगायो । तीन वर्षे काखे बालक च्यापेकी महिलादेखि ७५ वर्षका वृद्धहरु समेत महानगरपालिकाका प्रहरीसँग घम्माघम्सीमा उत्रिनुपर्यो । तर पनि उनीहरुले सोमबार साँझ ६ बजेसम्म खुल्ला मञ्चमा प्रवेश अनुमति पाएनन् ।

आफूहरु खुल्ला मञ्चमै बसेर सरकारको ध्यान आकर्षित गर्ने अडानमा रहेका मिटरब्याजी पीडितहरुको आशा, भरोसा र विश्वास सरकारले पहिलो दिन मै तोडिदिएको छ ।

कसैगरी पनि नगरिकको बन्न नसकेको सरकारले आफूहरुलाई सामुहिक आत्मदाहको बाध्यतातिर धकेलेको भन्दै उनीहरु टुँडिखेलको प्रवेशद्धारमा रोइरहेका छन्, चिच्याइरहेका छन् ।

धनी हुने, खाने, शोषक, सामन्त र अपराधी सुदखोरहरुको लक्ष्यमा केन्द्रीत माओवादी पार्टीको नेतृत्वमा रहेको सरकारले यसरी गरिबहरुको पीडा र व्यथा नसुन्ला भन्ने अपेक्षा थिएन ।

पीडित गरिबहरुको कारुणिकता सुन्नको साटो सरकारले कानमा तेल हाल्यो । सायद उनीहरुले भनेजस्तै सामुहिक आत्मदाहको बाटो रोजे भने पनि सरकारलाई कुनै फरक पर्नेवाला छैन ।

प्रतिक्रिया दिनुहोस