aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

बालेनले पठाए मिटरब्याज पीडितलाई बालुवाटार, उठाए सङ्घीयता माथि प्रश्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
बालेनले पठाए मिटरब्याज पीडितलाई बालुवाटार, उठाए सङ्घीयता माथि प्रश्न

काठमाडौँ। एघार दिनसम्म लगातार हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरुलाई काठमाडौँ महानगर पालिकाले खुल्ला मञ्च प्रवेशमा रोक लगाएपछि भएको आलोचनाको मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिवाद गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत मङ्गलवार आलोचना मत्थर पार्ने उद्देश्यले प्रस्टीकरण दिएका हुन्। 

आन्दोलनकारीलाई शङ्कास्पद रुपमा चित्रित गर्दै उनले लेखेका छन्, "खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरू शङ्कास्पद छन् ।"

उनले बुँदागत रुपमा लेखेका छन्: पहिलो, यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ । 

दोस्रो, पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आई पुग्नुले हाम्रो सङ्घीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा सङ्घीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषद्ले दिनु पर्ने हो । पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो ।

तर, यी कुनै नभइरहेको अवस्थामा काठमाडौँ महानगरले उहाँहरूको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरूले खुलामञ्च भन्दा अन्य विकल्पहरू मान्न तयार हुनु भएन । खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ ।

हामी अझै पनि भन्छौँ, स्थानीय समस्याहरू स्थानीय सरकारबाट समाधान हुनु पर्छ । नभएर माथिल्लो सरकारमा आइपुगे पछि हदैसम्म शीघ्रता देखाएर समाधान हुनु पर्छ । रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सधैँ खुला थियो, छ र रहनेछ । र, यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहनेछ ।

प्रतिक्रिया दिनुहोस