काठमाडौं । संयोग न हो । छुट्टिएका भेटिन्छन् । जोडिएका छुट्छन् । यस्ता संयोग कहिलेकाँही हुन्छन् । कुनै दुःखदायी, कुनै रमाइला । यस्तै एउटा रोचक संयोग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रीपरिषद विस्तार गर्दा समेत जुटेको हो ।
प्रचण्डको क्याबिनेटमा पुराना दुईवटा चित्रहरु अर्काअर्कै दलबाट सहभागी भएका छन । एक हुन्, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्का अर्थमन्त्री प्रकाश शरण महत ।
उहीले विद्यार्थी कालमा नारायणकाजी र प्रकाशशरण दुवै नेवि संघका विद्यार्थी नेता थिए । महाराजगञ्ज क्याम्पसमा ती दुवै एउटै ब्याजमा पढ्थे अति धेरै मिल्थे । उनीहरुसँगै पढ्ने अर्का मित्र पत्रकार तथा वामपन्थी बुद्धिजिवी कोमल भट्टराईले त्यसबेलाका घटनाक्रमलाई स्मरण गरेका छन् ।
त्यही पुरानो यादलाई ताजा पार्न उनले आफ्नो फेसबुकमा राखेको तस्विर हो । यो समाचारको शीर्ष भागमा पोष्ट गरिएको तस्विर । यो तस्विर गोदावरीमा पिकनिक खान जाँदा खिचिएको भट्टराईको भनाई छ । त्यसबलाको रोचक प्रसङग समेत भट्टराईले स्मरण गरेका छन् ।
श्रेष्ठ र महत दुवै वामपन्थीको उग्र विरोधी थिए । उनीहरु वामपन्थको विरोध गर्न आचार्य रजनिश (ओशो) को ‘समाजवाद से सावधान’ भन्ने किताबको प्रयोग गर्थे । नारायणकाजी र प्रकाशको अर्को हतियार थियो । मिलोवान जीलासको पुस्तक ‘नयाँ वर्ग’ ।
भट्टराई कै शब्दमा भन्दा उनीहरु ती दुई किताबबाट उद्ध्रणहरु निकालेर अन्य वामपन्थी मित्रहरुलाई ‘नुन ख्वाइएका कुखुरा’ जस्ता बनाउँथे ।
भट्टराईले एकदिन जुक्ति लगाएर उनीहरुको प्रमुख हतियार नै कब्जा गरे । पढ्न भनेर दुर्व पुस्तक मागे र हरायो भन्दिए । त्यसपछि महत र श्रेष्ठको सधै पड्काउने बारुद सकियो ।
यसरी सँगै मोर्चा कसेर हिड्ने महत र श्रेष्ठको जोडी २०३७ सालमा महत नेविसंघको महामन्त्री भएपछि टुट्यो । किनकी प्रकाशशरण महतलाई आफ्नो नेता मान्नु पर्ने कुरा सायद श्रेष्ठलाई सह्य भएन ।
पुराना घटना स्मरण गर्दै कोमल लेख्छन्, ‘२०३८ साल मंसिरमा नारायणलाई भेट्दा म पनि वाम भए भन्थे ।’ यसरी प्रकाशशरण महतलाई आफू भन्दा माथि सहन नसकेका नारायणकाजी अहिले क्याबिनेटमा पनि उनी भन्दा एक तहमाथि नै छन् । मन्त्रालय गृह छ । पद उपप्रधानमन्त्रीको पाएका छन् ।
यसरी नेवि संघको उग्र नेता २०३८ सालमा वाम मात्रै भएनन् । २०५१ साल तिर त चर्चित कम्युनिष्ट नेता कमरेड सन्देश बनिसकेका थिए । पछि सायद प्रकाश शरण महतको नाम र इष्र्याले पनि हुनसक्छ उनले पनि आफुनो भुमिगत नाम त्यही राखे, क.प्रकाश ।
अहिले तिनै क. प्रकाश र कांग्रेस नेता प्रकाश दुवै प्रचण्डको एउटै क्याबिनेटमा छन् । अहिले नेकपा माओवादी केन्द्रका नेताका रुपमा रहेपनि जरो खोतल्ने हो भने उनी खोर कम्युनिष्ट विरोधी हुन् ।
यी दुवै कम्युनिष्ट विरोधीहरुको रसायन मिल्ने हो की होइन भन्ने चिन्ता चाँही कोमल लगायतका पुराना दौतरीहरुलाई अहिले पनि छ । त्यसो त । धेरैजसो कम्युनिष्टहरु नै छन्, त्यसबेलाका साथी भाईहरु । तर, आत्मियता भने धेरैको नारायणकाजी भन्दा प्रकाशशरण सँगै छ ।
तस्विर खिचिएको दिन वनभोज खान गएका अर्का एक सहपाठीले भने, ‘स्वभावको कुरा हो । सक्कली प्रकाश सबैसँग मिल्छन् । मिजासिला छन् । नक्कली प्रकाश दाउपेच मात्रै हेर्छन् । उनको ताल नै बेग्लै छ ।’ कामना गरौं, यो रोचक संयोग मुलुकको लागि हितकारी बनोस् । नक्कली र सक्कली प्रकाशबीचको द्धन्द्धले क्याबिनेटमा सौहार्दता नबिथोलोस् ।
प्रतिक्रिया दिनुहोस