aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भ्रष्टाचार आरोपमा शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
भ्रष्टाचार आरोपमा शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सर्लाहीको लालबन्दी नगरकार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख (उप–सचिव) वासुदेव तिमल्सिनासहित तीन जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुरको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय सर्लाहीको उप–जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा उक्त विद्यालयमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त सम्बन्धमा अनुसन्धान हुँदा शिक्षा शाखा प्रमुख तिमल्सिनाले साविक डिम विद्यालयमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई नियुक्ति प्रक्रिया गरेको पाइएको छ । 

हाजिरी रेकर्ड लगायतका अभिलेख बिना साविक जिल्ला शिक्षा कार्यालयका शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै निज तिमल्सिनाले पाँचु रायलाई केश्वर विद्यालयको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न नियुक्ति समर्थन÷अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाएको आयोगको आरोप छ । उनले त्यहाँ सरुवा पदस्थापना गरी वदनियतपूर्वक सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको आयोगको ठहर छ । 

उनीहरुलाई कैद र जरिवाना गर्न मागदाबी लिइ बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । डिम जनता उच्च माध्यमिक विद्यालयका तत्कालीन प्राचार्य हाल रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक पाँचु रायलाई सरुवा पदस्थापन गर्न नक्कली लिखत बनाएका थिए । उनीसंग पनि कैद र जरिवाना गर्न माग गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस