काठमाडौं । नेपाल सरकारको सहलेखापालमा काम गरेर अकुत सम्पत्ति आर्जन गरेका सुरेश अधिकारी अख्तियार अनुसन्धान आयोगको फन्दामा परेका छन । अधिकारीले अकुल सम्पति आर्जन गरेर ४ वटी पत्नी तथा सासु समेतका नाममा घरजग्गा राखेका विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतले उनलाई ६ महिना कैद सजाय गरेको छ ।
चैत १७ गते विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले लेखापाल अधिकारीलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख ११ हजार रुपैयाँ जरिवाना गरिएको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीका अनुसार बाँकी प्रतिवादीहरूको हकमा सोही रकम बराबरको सम्पत्ति जफत गर्ने फैसला भएको हो ।
अधिकारीले ४ जना पत्नी राखेको, चारैजना पत्नीको नाममा जग्गा खरिद गर्ने, घर बनाउने, सवारीसाधन खरिद गर्नेदेखि विलासिताका लागि मनोरञ्जनका सामानहरूमा अस्वाभाविक लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा भेटिएको थियो । त्यति मात्र होइन, सासूको नाममा, नातामा मामा पर्ने व्यक्तिको नाममा समेत सम्पत्ति खरिद गरेर राखेको भेटिएको थियो ।
उनले ४ पत्नी ३४ वर्षीया दूर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिसान घर बनाउने काममा लगानी गरेका थिए । सबै पत्नीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौं रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए ।
प्रतिक्रिया दिनुहोस