काठमाडौँ । पश्चिम नेपालको बैतडीमा मंगलबार राति जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नम्बर ८ झौलेक मोडमा राति करिब ११:२५ बजे जीप दुर्घटना भएको थियो।
दुर्घटनामा पछी घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा रहेका छन् । त्यस्तै, अन्यमा ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन्।
सो जीपमा सवार अन्य पाँच जना भने सकुशल छन्। जीप सडकबाट खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस