काठमाडौं । मंगलबार राति भएका दुई बेग्लाबेग्लै सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
त्यसैगरी, पश्चिम नेपालको बैतडीमा मंगलबार राति जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार जय पृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नम्बर ८ झौलेक मोडमा राति करिब ११:२५ बजे जीप दुर्घटना भएको थियो।
सिन्धुलीमा मंगलबार राति साढे १२ बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो दुर्घटनामा चार जना पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनको धुलिखेल स्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस