aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उद्योग वाणिज्य महासंघ निर्वाचनः दुई जना मतदाताका लागि दुई घण्टा समय थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
उद्योग वाणिज्य महासंघ निर्वाचनः दुई जना मतदाताका लागि दुई घण्टा समय थपियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज बिहानबाट मतदान शुरु गर्ने भनिए पनि केहि ठिलो गरि शुरु भएको थियो ।

आज दिउँसो चार बजेसम्म मतदान गर्न बाँकी दुई जना मात्रै रहेको बताइएको छ । उनीहरुको लागि मतदान गर्ने समय थप गरिएको छ । तर, बिहान ढिलागरि मतदान शुरु भएकोले दुई घण्टा समय थप गरिएको निर्वाचन अधिकृतको भनाई छ । 

मतदान चलिरहँदा केही समयमै हल्ला भएपछि मतदान प्रक्रिया समेत रोक्नु परेको थियो । तर, रोकिएको मतदान प्रक्रिया केहिबेरपछि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । 

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।

संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् । 

अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार हुुनुहुन्छ साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् । 

महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिए । मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी परेको छ । साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिए । 

गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उहाँहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर संघ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ ।

जसमा १८ जना निर्वाचित हुनेछन् । एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

महासङ्घकाअनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् । 

जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ ।

प्रतिक्रिया दिनुहोस