काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वर्जित समयमा सप्ताह, नवाह र ठुला ठुला यज्ञहरू हुनुका साथै हुन लागेको खबर प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सूक्ष्म रूपमा प्रारम्भ भएको कर्मलाई वृद्धि क्रमले गुरूशुक्रास्तमा यज्ञादि गर्न निषिद्ध भएको शास्त्रहरूको निष्कर्ष रहेको समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भन्दै समितिले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव नगर्ने शास्त्रको मनसाय भएको जनाएको छ । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न नमिल्ने समितिको भनाइ छ ।
नका अनुसार चैत्र १७ गते शुक्रवारदेखि गुरु अस्त भएर आगामी वैशाख १५ गते शुक्रवार गुरूको उदय हुन्छ । उक्त दिनहरूमा गुरूको अस्त दोष र वैशाख १६ गतेदेखि वैशाख १८ गतेसम्म गुरूको बाल्य दोष रहने विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त अवधिमा इनार, बगैचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध,चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्महरू उक्त अस्तकालमा गर्नुहुँदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र,धर्मशास्त्र, आदि सबै शास्त्रले बताएका छन्’, विज्ञप्तिमा भनिएको छ ।
शास्त्रवचनको आधारमा पूजापाठादिलाई बिचमा बढाएर वृद्धि क्रमले अगाडि बढाउन नमिल्ने शास्त्रको मर्म रहेकोले यस्ता धार्मिक कार्यहरू नगर्न नगराउनले समितिले अनुरोध गरेको छ ।
‘हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठुला ठुला यज्ञहरू भै रहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका छन् । यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ भनी देशमा चारैतिरबाट जन गुनासाहरूसमेत यस समितिमा आएकाले यसमा समितिको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ , ‘सूक्ष्म रूपमा भए पनि आरम्भ पछि यसको दोष लाग्दैन पनि कोही कोही भन्दछन् तर सूक्ष्मआरम्भ पछि गुरूशुक्रास्तमा फेरि वृद्धिक्रमले पाठ, जप होमादि गर्न हुन्न भन्ने विषय शास्त्रमा प्रष्टरूपमा लेखिएको छ ।’

प्रतिक्रिया दिनुहोस