काठमाडौं । ‘सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ बैशाख २२ गतेदेखि हुने भएको छ । तीन दिनसम्म हुने उक्त मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको हो । नेपाल उद्योग परिसंघले सोमबार मेलाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसको व्यवस्थापकीय साझेदारीमा चितवन प्रदर्शनी केन्द्रमा हरेक वर्ष नियमित वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएको छ ।
सो मेलामा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइन, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुनेछन् । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
निशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु अवलोकनकर्ताको रुपमा रहनेछन् ।
यसका साथै मेलाको अवलोकनकर्ताको रुपमा नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी संघ संस्थाका प्रतिनिधिहरु, तीन तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिहरु आदि रहनेछन् ।
उक्त प्रदर्शनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रुपमा रहने आयोजकको भनाई छ ।
सो प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुयाउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउने आयोजकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस